Advertisement
SKIP THIS
अक्सफाम नेपाल र ली–बर्डको सहकार्यमा स्थानीय बीउ प्रणाली सुधार कार्यक्रम संचालन

निराकरण खबर कैलाली :हरेक वर्ष वर्षातको समयमा हुने डुबानका कारण बर्खेबाली भित्राउन मुस्कील पर्ने कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिका अन्तर्गतका किसानहरुका लागि सहभागिता मुलक जातीय छनोट कृषक पाठशाला फलदायी बनिरहेको छ ।

अक्सफाम नेपाल र ली–बर्डको सहकार्यमा संचालित स्थानीय बीउ प्रणाली सुधार कार्यक्रम अन्तर्गत यस क्षेत्रमा संचालित कृषक पाठशाला, स्थानीय ज्ञान र दक्षतालाई नयाँ ज्ञान र दक्षता निर्माण गर्नका लागि बलियो आधार स्तम्भ मात्र बनेको छैन । किसान र उनीहरूको समुदायहरूलाई जलबायु अनुकुलन र कृषक मैत्री प्रविधि (जात छनौट) सबलीकरण गरी सामाजिक परिवर्तनमा समेत योगदान गरिरहेको छ । “पाठशाला सुरु नहुनु भन्दा पहिले चैते धानका यति धेरै प्रजाती हुन्छन् र हाम्रो गाउँठाउँको माटोमा यसले यति राम्रो फलदिन्छ भनेर आफुहरुले सोच्न पनि सकेका थिएनौं । पाठशाला संचालन भए पछि मात्र बल्ल थाहा पायौं” । पाठशालामा बसेर धेरै कुरा आफुहरुले सिक्न पाएको कैलारी गाउँपालिकामा संचालीत राना थारु कृषक पाठशालाकी सदस्य बिनीता चौधरी बताइन ।

सहभागितामुलक जातीय छनौटमा बालीका बिभिन्न जात र प्रजनन लाइनहरू बीच तुलना गरेर, राम्रो प्रदर्शन गर्ने जातलाई कृषक पाठशाला मार्फत किसानहरूले छनौट गर्ने गर्दछन् । त्यसै अनुसार समुदायको आवश्यकता हेरेर उनीहरूका लागि चाहिएको उपयूक्त जात छनौट गर्न कृषक पाठशाला एउटा सरल र सजिलो विधि पनि हो, जसबाट थोरै समयमा नै उनीहरूले आशातित उद्धेश्यहरू सहजै प्राप्त गर्न सक्दछन् । सहभागितामुलक जातीय छनौटमा महत्वपूर्ण गुणहरू भएका जस्तैः छिटो पाक्ने, सुख्खा सहने, रोग तथा किरा सहन सक्ने, बढी उत्पादन दिने, र खानामा मिठो आदिलाइ छनौटका आधार मानेर कृषकहरूले विभिन्न जातहरू लगाई ती मध्ये कुनै एक वा दुई वटा राम्रो प्रदर्शन गर्ने जात छनौट गर्ने गर्दछन् । “गएको वर्षको पाठशालामा दश जातको चैते धानको बिउ लगाएका थियौं र यस पटक बाह्र जातको धान लगाएका छौं । यसरी दुइ पटकको परिक्षणले अघिल्लो वर्ष राम्रो भनिएको बालीले यस वर्ष पनि राम्रो प्रतिफल दिन सक्यो भने यसरी उपयुक्त बाली आफुहरुले छनोट गर्ने गरेको कैलालीको भजनीमा संचालीत नयाँ गोरेटो कृषक पाठशालाकी उपाध्यक्ष देशरानी कुमारी चौधरीले बताइन ।

कृषक पाठशाला केवल किसानहरूका लागि मात्र ज्ञान, सिप, अनुभव र दक्षता आर्जन गर्ने थलो बनेको छैन् । पछिल्लो सयम यस क्षेत्रमा कृषि पेशामा केहि गर्ने अभिप्रायले कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि पनि सिक्ने र सिकाउने माध्यम बनिरहेको छ । सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय स्नातक पढिरहेका दाङ घोराहीका नविन घिमिरे कृषक पाठशालामै सहभागी भएर आफ्नो थेसिस गरिरहेका छन् । उनी मात्र होइन, बाली विज्ञान अध्यनरत अन्य विद्यार्थीहरुका लागि पनि कैलालीमा संचालीत कृषक पाठशाला ज्ञान आर्जन गर्ने थलो बनेको छ ।

कृषक पाठशालाको उद्देश्य स्थानीय माटो,हावापानी सुहाउँदो उपयुक्त चैते धान जातको पहिचान गरी कृषकका लागि नविनतम प्रविधि भित्राउनु नै हो । त्यसो त, कैलालीका १३ स्थानीय तह मध्ये भजनी नगरपालिका र कैलारी गाउँपालिका डुबानको उच्च जोखीममा रहेका क्षेत्र हुन । हरेक वर्ष वर्षातको समयमा बर्खे धानबाली डुबानका कारण समयस्याले आजित बनेका यस क्षेत्रका किसानका लागि चैते धान एक विकल्प नै हो । यस्तो अवस्थामा अक्सफाम नेपाल र ली–बर्डको सहकार्यमा संचालित स्थानीय बीउ प्रणाली सुधार कार्यक्रम अन्तर्गत संचालित कृषक पाठशाल मार्फत समुहमा बसेर किसानले आर्जन गरेको ज्ञान, सिप र अनुभवले उनीहरूको जिविकोपार्जन गर्नमा मात्र सघाउ पुगेको छैन । यस क्षेत्रका लागि जटिल बन्दै गैइरहेको खाद्य सुरक्षामा समेत टेवा पुगेको छ ।

तपाईको प्रतिक्रिया