Advertisement
SKIP THIS
असार १५ धान दिवस तथा रोपाइँ महोत्सव

अछाम :जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ। २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो।

२९ मंसिर २०६१ मा मन्त्रिस्तरीय निर्णय गरी १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। विश्वको जनसंख्याको आधा मानिसको मुख्य खाना नै चामल हो। ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ। उत्पादनको आधा एसियामै खपत हुने गरेको छ। नेपालमा धानको उत्पादन वृद्धि हुँदा आर्थिक वृद्धिदर बढ्ने गरेको छ। नेपालमा अधिकांशको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान छुपुछुपु रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही–चिउरा खान्छन् । यसबेला दही–चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही–चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही–चिउरा खाएर असार १५ मनाउँछन्।

तपाईको प्रतिक्रिया