Advertisement
SKIP THIS
वकिलहरुले खाए म्याद गुज्रिको बियर,२४ बोत्तल पिइसकेपछि थाहा पाए

पोखरा:पोखरा नजिकैको कार्की डाँडामा मंगलबार जिल्ला बार एसोसिएसन र उच्च अदालत बार एसोसियसनका वकिलहरुको सामूहिक पिकनिक थियो । पिकनिकमा लागि बडवाइजर नामक बियर लगिएको थियो । २४ बोत्तल पिइसकेपछि थाहा भयो( बियरको म्याद २ महिनाअघि नै गुज्रिसकेको रहेछ ।

पोखरा सेल्वेज डिपार्टमेन्टल स्टोर्सबाट लगिएको बियर म्याद गुज्रेको थाहा भएपछि वकिलहरुले जिल्ला प्रशासन कार्यालयलाई खबर गरे ।

‘वकिलजीहरुले बियर पिउँदै गर्दा म्याद गुर्जेको भन्ने थाहा भयो । त्यसपछि हामीलाई खबर आयो,’ जिल्ला प्रशासन कार्यालय कास्कीका नासु शिवप्रसाद शर्माले भने, ‘त्यसपछि हामी तत्काल अनुगमनमा गयौं ।’

जिल्ला प्रशासनको अगुवाइमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी र महानगर प्रतिनिधिको टोली म्याद गुज्रेको बडवाइजर बियर बेच्ने महेन्द्रपुलस्थित सेलवेज डिपार्टमेन्ट स्टोर्समा पुग्यो । सेलवेजले त्यो बियर पर्स्याङस्थित लाभाजु इन्टरप्राइजजेजबाट ल्याएर बेचेको खुल्यो ।

‘त्यहाँ पुगेपछि उहाँहरुले बियर बेचेको कुरा स्वीकार्नुभयो । तर, आफूहरुले पनि लाभाजु इन्टरप्राइजेजबाट ल्याएर बेच्ने गरेको बताउनुभयो,’ नासु शर्माले भने, ‘तत्कालै हामी त्यहाँबाट लाभाजुको गोदाममा पुग्यौं ।’

लाभाजुको गोदाममा रहेको ‘एक्सपाइरी जोन’मा धेरै मात्रामा बियरहरु नियमपूर्वक नै राखिएको थियो । तर, जब ‘सेल्स जोन’मा अनुगमन टोली पुग्यो, त्यहाँ सबै बियर पनि म्याद गुज्रेका नै राखिएको फेला पर्‍यो ।

बिक्री गोदाममा गोदाम निरीक्षण गर्दा ३५० मिलिको ३१६ कार्टुन र ११ बोत्तल, ३३० मिलिको ५ कार्टुन र ११ बोत्तल फेला परेको जिल्ला प्रशासनले जनाएको छ । कुल १३ लाख ९८ हजार रुपैयाँ बराबरका ती बियरको म्याद गत महिनामै सकिइसकेको भेटिएको हो ।

तपाईको प्रतिक्रिया