Advertisement
SKIP THIS
सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको संकेत,

काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्काल सरकारमा नजाने बताएका छन् । चितवन २ बाट विजयी भएपश्चात कामठाडौंमा पहिलोपटक सञ्चारकर्मीसँग प्रस्तुत भएका उनले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सक्ने आशय प्रकट गरे ।

लामिछानेले सरकारको न्यूनतम कार्यक्रमबाट आफ्नो पार्टीका एजेन्डाहरू हटाइएकोमा असन्तुष्टि जनाएका थिए । कुनै पनि समयमा भएको भ्रष्टाचारको फाइल खोल्ने विषय नीति-कार्यक्रममा हटाइएको भन्दै उनले सरकारलाई समर्थनको औचित्यमै प्रश्न उठेको बताए ।

‘जुन ढंगले न्यूनतम साझा कार्यक्रममा हाम्रा महत्वपूर्ण बुँदा हटाइएको छ, अब हामीले सरकारलाई दिएको समर्थनको औचित्यमा प्रश्न गर्नुपर्ने भएको छ । भ्रष्टाचारको फाइल नखोल्ने हो भने त सरकार पनि हट्न बेर लाग्दैन । हामी थप मजबुत भएर आएका छौं ’, लामिछानेले भने ।

उनले आफ्नो पार्टी सरकारमा जाने स्थिति अहिले नरहेको स्पष्ट पारे ।

उनले थपे, ‘पहिले सरकारमा जाने कारणहरू हामीले बताएका थियौं । अहिले त्यस्तो कारण नै छैन । हावामा टेकेर जाने कुरा आउँदैन । मन्त्री बन्नका लागि मात्रै सरकारमा जाने पनि होइन ।’

त्यसो भए चार वर्ष कुर्ने हो त ? भन्ने प्रश्नमा लामिछानेले जवाफ दिए, ‘यो विकल्प ठीक छ ।’

उनले दोस्रोपटक संसदमा निर्वाचन भएकोमा रोमाञ्चित बनेको बताए । आफूलाई पहिले र अहिलेका दुवै लोगो लगाएर संसद जान मन लागेको उनले बताए ।

‘दुवै लोगो लगाएर जाउँ कि जस्तो भएको छ, तर अहिले हास्यास्पद देखिएला कि ?’ लामिछानेले भने ।

बारामा रास्वपाले राम्रो नतिजा ल्याउन नसकेको विषयमा पनि उनलाई सोधिएको थियो । लामिछानेले मधेशमा आफ्नो पार्टीको उपस्थिति नै कमजोर रहेको स्वीकार गरे ।

‘मधेशको राजनीति अन्यत्र फरक छ । यो बुझेर पनि हामीले एउटा प्रयास गरेका थियौं । कम्तीमा हामीले आफ्नो उपस्थिति जनाएका छौं । अब हामीले मधेशमा धेरै काम गर्न बाँकी छ ।’

लामिछानेले रमेश खरेलजस्ता व्यक्तिको प्रवेशलाई नै आफूहरूले जितका रूपमा लिएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया