Advertisement
SKIP THIS
अछामका स्थानीय तहको बेरुजु ४३ करोड बढी

निराकरण खबर अछाम: महालेखा परीक्षकको कार्यालयले २०७७/०७८ मा अछामका स्थानीय तहको गरेको लेखापरीक्षण अनुसार १० स्थानीय तहको बेरुज ४३ करोड १९ लाख ८२ हजार पुगेको छ।

महालेखाले सार्वजनिक गरेको ६० औं प्रतिबेदन अनुसार अछामका १० स्थानीय तहमा बान्नीगढी जयगढ गाउँपालिकामा सबैभन्दा कम बेरुजु आएको छ। बान्नीगढी जयगढ गाउँपालिका सुदूरपश्चिममै सबैभन्दा कम ०.९४ प्रतिशत बेरुजु आएको छ।महालेखाको प्रतिबेदन अनुसार अछाममा सबैभन्दा बढी ढकारी गाउँपालिकामा ९.३१ प्रतिशत बेरुज देखिएको हो।

बान्नीगढी जयगढ गाउँपालिकामा कुल ९३ करोड ६७ लाख ५१ हजारको कुल लेखापरीक्षण गरेको ०.९४ प्रतिशत अर्थात ८८ लाख ४ हजार बेरुजु आउदा ढकारी गाउँपालिकामा कुल १ अर्व ३८ करोड ३७ लाख ५ हजारको लेखापरीक्षण गर्दा ९.३१ प्रतिशत अर्थात ९ करोड ६७ लाख २२ हजार बेरुजु आएको हो। यस्तै बढी बेरुजु आउने दोस्रोमा रामारोशन गाउँपालिका रहेको छ। उसमा १ अर्व २८ करोड २२ लाख ७५ हजार लेखापरीक्षण गर्दा ५.८६ प्रतिशत अर्थात ७ करोड ५० लाख ७८ हजार बेरुजु देखिएको महालेखाको प्रतिबेदन उल्लेख छ।

तुर्माखाद गाउँपालिकामा १ अर्व १४ करोड २१ लाख ५ हजारको लेखापरीक्षण भएकोमा ४ .७१ प्रतिशत अर्थात ५ करोड ६६ लाख ७० हजार बेरुजु देखिएको छ। कमलबजार नगरपालिकामा १ अर्व २३ करोड ३७ लाख ४३ हजारको लेखापरीक्षण गरेकोमा ३.२१ प्रतिशत अर्थात ३ करोड ९५ लाख ९६ हजार बेरुजु रहेको महालेखाले औल्याएको छ।

यस्तै पञ्चदेवल बिनायक नगरपालिकामा १ अर्व २५ करोड २५ लाख २ हजारको लेखापरीक्षण भएकोमा २.९ प्रतिशत अर्थात ३ करोड ६३ लाख ६ हजार बेरुजु देखिएको छ। चौरपाटी गाउँपालिकामा १ अर्व १७ करोड ७७ लाख ४० हजारको लेखापरीक्षण भएकोमा २.७१ प्रतिशत अर्थात ३ करोड १९ लाख १ हजार बेरुजु देखिएको छ।

यस्तै साँफेबगर नगरपालिकामा १६ अर्व ६२ करोड ७० लाख ५ हजारको लेखापरीक्षण भएकोमा २.४ प्रतिशत अर्थात ३ करोड ९८ लाख ४२ हजार बेरुजु महालेखाले औल्याएको छ।

मेल्लेख गाउँपालिकामा १ अर्ब २९ करोड ४० लाख ४६ हजारको लेखापरीक्षण भएकोमा १.८५ प्रतिशत अर्थात २ करोड ३९ लाख २१ हजार बेरुजु आउदा मंगलसेन नगरपालिका १ अर्ब ४४ करोड १३ लाख ५३ हजारको लेखापरीक्षण भएकोमा १ .६१ अर्थात २ करोड ३१ लाख ४२ हजार बेरुजु रहेको महालेखाको ६० औ प्रतिबेदन उल्लेख गरिएको छ।

प्रचलित कानुन बमोजिम पुर्याउनुपर्ने रीत नपुर्याइ कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमुनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम कलमलाई बेरुजु भनिन्छ । 

तपाईको प्रतिक्रिया