Advertisement
SKIP THIS
बेजोगमा सेती राजमार्ग: दलको चुनावी नारा मात्रै

कमल सावद धनगढी : कैलालीको मोहन्यालका धनबहादुर घर्तीमगरलाई कसैले सेती लोकमार्ग बन्छ भनेको धेरै वर्ष भयो। उनी जवान हुँदा नै सेती लोकमार्ग निर्माण हुने सुनेका थिए। उनी वृद्ध हुँदै गएका छन्। सेती लोकमार्गको कैलाली खण्डमा पनि ट्रयाक खोल्ने काम पूरा भएको छैन। उनी भन्छन, ‘हामी त यो बाटोमा हिड्न पनि नपाउने भयौ। ७० वर्षको भए। अझै बाटो बनेको छैन।’

तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले २०४२ सालमा सेती लोकमार्गको अवधारणा ल्याए। कैलालीसहित सुदूरपश्चिमका पाँच जिल्लालाई तिब्बतसँग जोड्न सडकको अवधारणा सुरु भएको हो। कैलालीबाट बझाङको चैनपुरहुँदै चीनको तिब्बत–ताक्लाकोट जोड्ने सो सडकको २०६५ सालबाट ट्रयाक निर्माण सुरु भएको थियो। तर निर्माण सुरु भएको १४ वर्षसम्म आधा काम पनि पूरा भएको छैन्। कैलालीको टीकापुरदेखि अछामको साँफेसम्म सडकको लम्बाई एक सय ४४ किलोमिटर छ। 

कैलाली खण्डमा ५२, डोटीमा ४० र अछाम खण्डमा ६ किलोमिटर ट्रयाक निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ। कैलालीमा ५२ मा १५ र डोटी तथा अछाममा ट्रयाक निर्माणको काम बाँकी छ। मोहन्यालका स्थानीय दुगासिँह बुढाले १४ वर्षदेखि सडक निर्माण अलपत्र परेको बताए। उनले भने, ‘डोजर राखेका छन्। तर काम भएको छैन। काम गर्नेहरुलाई पैसा पनि दिएका छैनन्।’ निर्वाचनको समयमा मात्र सेती लोकमार्गको मुद्दा उठ्ने गरेको उनले बताए। 

टीकापुरदेखि बझाङको सदरमुकाम चैनपुरहुँदै उरै–भञ्ज्याङ–ताक्लाकोट जोड्ने सेती लोकमार्गको लम्बाइ ३५९ किलोमिटर छ। सडक निर्माण गर्न सेती लोकमार्ग दक्षिणखण्ड र उत्तरीखण्ड गरी दुई भागमा विभाजन गरिएको छ।् टीकापुर–चैनपुरसम्मको २४२ किलोमिटरखण्ड सेती लोकमार्गको दक्षिणखण्ड हो भने चैनपुर–उरै भञ्ज्याङ हुँदै ताक्लाकोटसम्मको ११७ किलोमिटर सेती लोकमार्गको उत्तरीखण्ड हो। कैलाली खण्डमा रुख कटानीको काम समेत पूरा भएको छैन्।

अर्को स्थानीय रतनाकला भारतीले बस्ती विस्तार नहुँदै सडकको बारेमा सुनेको बताइन्। तर कामले अहिलेसम्म पूर्णता पाउन नसकेको उनको गुनासो छ। कैलालको बौनिया बजारदेखि १० किलोमीटरसम्म सडक सहज छ। बिचमा पर्ने काडा र कुहिरा खोलामा पुल बनेको छैन्। राजनीतिक दलहरुले निर्वाचनको समयमा चुनावी मुद्दा बनाए पनि कैलालीमा सो सडकमा पर्ने रुख कटानीको काम समेत पूरा भएको छैन्।

उक्त सडकका नौ हजार ६ सय ८६ रुख कटानी गर्नुपर्ने छ। तर दुई हजार आठ सय रुख कटानी गर्न बाँकी छ। लुम्बिनी–नागार्जुन –बानिया जेभीका प्रतिनिधि खगेन्द्र शाहीले डिभिजन वन कार्यालयले रुख कटानीको काम नगरेकाले सडक निर्माणमा ढिलाइ भएको बताए। सेती लोकमार्गको दक्षिण खण्डमा ५२ किलोमिटर ट्रयाक निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो। उक्त खण्डमा १५ किलोमिटर सडकको ट्रयाक निर्माणको काम बाँकी छ।

लोकमार्गको डोटीमा ४० किलोमिटर र अछाममा ६ किलोमिटर ट्रयाक निर्माणका लागि नयाँ ठेक्का सम्झौता भएको छ। गत मंसिरमा तीन वर्षमा डोटी र अछाम खण्डको सडक निर्माणको काम पूरा गर्न सम्झौता भएको हो। सेती लोकमार्ग दक्षिण खण्डका प्रमुख इन्जिनियर रमेश भटराईले चालु आर्थिक वर्षभित्र कैलाली खण्डको काम पूरा हुने बताए। उनले भने, ‘साँफेसम्म एक सय ४४ किलोमिटर हो। कैलालीमा १५ किलोमिटर बाँकी छ। यो वर्ष सक्ने लक्ष्य हो।

डोटीमा ४० र अछाममा ६ किलोमिटर ट्रयाक खोल्न बाँकी छ। डोटी र अछाममा यो वर्ष ठेक्का भएको हो। तीन वर्षमा काम पूरा गर्ने लक्ष्य छ। चीनको सिमाना जोड्ने सेती लोकमार्ग छोटो दूरीको मार्ग हो। यसले भारत र चीन दुई छिमेकी देशको नाकालाई छोटो दूरीमा जोड्नेछ।

तपाईको प्रतिक्रिया