Advertisement
SKIP THIS
देशका समस्याको समाधान हामी गर्छौं : केपी ओली

काठमाडौं :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा समस्या रहेको भन्दै ती समस्याको समाधान नेकपा एमालेले गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो जिम्मेवारी एमालेको काँधमा आएको बताए ।

‘यो देशमा समस्या छन् । ती समस्याको समाधान हामी गर्छौं । हामी भनेको नेकपा एमाले’, अध्यक्ष ओलीले नेकपा एमाले राष्ट्रिय हित, राष्ट्रिय गौरव र स्वाभिमानको पक्षमा रहेको भन्दै एमाले राष्ट्रियताको साँचो प्रतिनिधि र रक्षक भएको बताए ।

अध्यक्ष ओलीले मातृभूमिको रक्षा गर्ने एमालेमात्र भएको भन्दै समानता, स्वाधीनता र स्वतन्त्रताको पहुँचको सुनिश्चितबाट जनता वञ्चित भएको बताए ।

‘यो साधारण कुरा होइन । भोकै बस्नु, जाडोमा कठ्याङग्रिनु बिमारी हुँदा उपचार गर्न नसक्नु यो साधारण पीडा होइन । यसबाट मुक्त गर्नुपर्छ’पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।

उनले समाजवाद धेरैले भन्ने गरेपनि त्यसको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षलाई समेटेर मात्रै समाजवाद र समृद्ध नेपाल सुखी नेपालीको यात्रामा अघि बढ्नुपर्ने बताए ।

उनले अनेरास्ववियु नेपालको विद्यार्थी आन्दोलनको मात्रै मूलधार नभएर नेपालको राजनीतिमै अत्यन्तै महत्त्वपूर्ण भूमिका र गौरवपूर्ण इतिहास बोकेको प्रगतिशील संगठन भएको बताए । ‘योसँग अरु कुनै विद्यार्थी संगठनको तुलना हुँदैन’, अध्यक्ष ओलीले अनेरास्ववियु सकारात्मक उदाहरण हुनुपर्ने पनि बताए ।

तपाईको प्रतिक्रिया