Advertisement
SKIP THIS
राष्ट्रपतिद्वारा सरकार गठनका लागि आह्वान

काठमाडौं:राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले सात दिनको समय दिएर संसदमा रहेका दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयका अनुसार आगामी १० गते बेलुका ५ बजेभित्र सरकार गठनको लागि बहुमत ल्याउन राष्ट्रपतिले समय दिएकी छन्।

पुस १० गते आइतबार साँझ ५ बजे भित्र सरकार गठन गर्न राष्ट्रपतिले समय दिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै दलको पनि एकल बहुमत नआएकोले धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान भएको हो।

संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्ने उल्लेख छ। दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ।

‘प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/ ९/१० गते आइतबार १७ः०० बजे भित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आव्हान भएको व्यहोरा अनुरोध छ,’ राष्ट्रपति कार्यालयको सूचनामा भनिएको छ।

तपाईको प्रतिक्रिया