Advertisement
SKIP THIS
कांग्रेसले जित निश्चित भएको सूचीमा राखेका २५ क्षेत्र नै गुमेपछि

काठमाडौं:प्रतिनिधिसभातर्फ ९१ क्षेत्रमा चुनाव लडेको कांग्रेसको आन्तरिक विश्लेषण थियो– कम्तीमा ७० क्षेत्रमा सहजै चुनाव जितिन्छ । तर, चारवटा क्षेत्रको परिणाम आउन बाँकी रहँदा कांग्रेसले ५४ मा मात्रै जित निकालेको छ, एकमा अग्रता लिइरहेको छ ।

जित निश्चित भएको सूचीमा राखेका २५ सिट गुमाएको छ । अनपेक्षित परिणामबारे कांग्रेस नेताहरूको निष्कर्ष छ– पार्टीभित्रैबाट अन्तर्घात भयो । संस्थापन र इतर समूहका नेताहरू एकले अर्कालाई असहयोग गरेको गुनासो गरिरहेका छन् । 

निर्वाचनपूर्व कांग्रेसमा पाँचदलीय गठबन्धनलाई निरन्तरता दिँदै तालमेल गरेर जानुपर्ने संस्थापन पक्ष र एक्लै चुनाव लड्नुपर्ने शेखर कोइराला–गगन थापा समूहबीच निकै ठूलो विवाद थियो । विवाद सैद्धान्तिक तहमा मात्र होइन, प्रत्यक्ष र समानुपातिकतर्पmको टिकट बाँडफाँडका वेला पनि दुई समूहबीच उत्तिकै ठूलो तनाव भएको थियो । नेताहरूको बुझाइमा त्यही विवाद अन्तर्घातको तहसम्म पुगेको हो । 

कांग्रेस केन्द्रीय कार्यालयमा अनौपचारिक रूपमा आएका उजुरीमा ‘आकांक्षी रहे पनि टिकट नपाएका नेताले चुनावमा असहयोगी भूमिका खेलेको’ उल्लेख छ । यद्यपि, कडा प्रतिस्पर्धा हुने सूचीमा राखिएका केही क्षेत्रमा भने कांग्रेसले जित निकालेको छ । 

उम्मेदवारीलाई लिएर कांग्रेसभित्र कुन तहको असन्तुष्टि थियो भन्ने बुझ्न उसले गरेका कारबाहीकै सूची नै काफी छ । निर्वाचनअघि प्रतिनिधिसभा र प्रदेश सभामा बागी उम्मेदवारी दिने ८२ जनालाई पार्टीबाट निष्कासित गरेको थियो । कांग्रेसले तीनपटक गरी पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गर्ने उम्मेदवारलाई कारबाहीको सूचना निकालेको थियो ।

कारबाही पर्नेमा केन्द्रीय सदस्य दिनेश कोइराला र निवर्तमान सांसद अमरेशकुमार सिंहलगायत थिए । कांग्रेसले यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि कारबाही गरेको थियो । कांग्रेसका बागीकै कारण गठबन्धनका अन्य दलले पाएका कतिपय सिट पनि गुमेका छन् । 

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक गोपालमान श्रेष्ठले निर्वाचनमा अन्तर्घातको समस्या देखिएको बताए । अन्तर्घातकै कारण पार्टीले विगतमा एक्लै निर्वाचन जितेका स्थानमा पनि पाँचदलीय गठबन्धन हुँदासमेत परिणाम निकाल्न नसकेको उनले बताए । 
नयाँ पत्रिकाबाट सम्पादित अंश

तपाईको प्रतिक्रिया