Advertisement
SKIP THIS
रवीन्द्र मिश्रले ‘प्रचण्ड’लाई ‘ज्यानमारा’को दिए संज्ञा

काठमाडौं :राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका रवीन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘ज्यानमारा’को संज्ञा दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मिश्रले प्रचण्डमाथि चितवनको माडीमा बसमा बालबालिका र वृद्धवृद्धा जलाएको, मुलुकमा मान्छे मारेर शासन गरेको आरोप लगाएका हुन् । उनले पृथ्वीनारायण शाहको सालिक भत्काउनेले गोरखामा चुनाव जित्छु भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

मुलुकमा राजाको आवश्यकता औँल्याउँदै उनले ‘मान्छे मार्न हुने तर राजाले गल्ती नै गर्न नहुने ?’ भनी पटक–पटक प्रश्न गरे । मुलुक भूराजनीतिको भुमरीमा पर्ने भन्दै त्यसलाई जोगाउन पनि राजा र राजसंस्था अति आवश्यक रहेको मिश्रले जिकिर गरे ।

“मान्छे मारेर आउनेले यो मुलुकमा शासन गर्न हुने, माडीमा दिउँसै बसमा बच्चा र वृद्ध जलाउनेले त्यहीँबाट चुनाव जित्न हुने । पृथ्वीनारायण शाहको सालिक भत्काउनेले गोेरखामा गएर चुनाव जित्छु भन्न हुने । अनि, यो देशमा राजाले गल्ती गर्न नहुने ? संसारमा गल्ती नै नगर्ने राजा कहाँ छन् ? मलाई देखाउनुस्,” उनले भने, “राजा मेरो लागि चाहिएको होइन । तर, यो देशका लागि राजनीति गर्ने हो भने, यो देश जुन प्रकारको भूराजनीतिमा पर्दै छ, पहिला हामी अमेरिका–रुसको शीतयुद्धको कुरा गर्थ्यौँ, अब त्यो शीतयुद्ध सरेर दक्षिण एसियामा आउँदै छ । दुईतिर चीन र भारत उठेर आउँदै छन् । अनि, त्यसमा पश्चिमा चासो छ । र, नेपाल जहाँ, कुनै क्षयीकृत नभएको संस्था छैन । त्यो भूराजनीतिको भुमरीमा परेको देशलाई जोगाउन राजा र राजसंस्था चाहिन्छ ।”

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमेशर राणाले ठूला दलले मुलुकलाई दुर्गतिमा पुर्‍याएको भन्दै त्यसको विकल्पमा आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई साथ दिन आग्रह गरे ।

राप्रपाका अर्का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलले मुलुकमा लुट मात्र मच्चाएकाले आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई आम मतदाताले जिताउनुपर्ने बताए । उनले राप्रपा कांग्रेस र कम्युनिस्टहरूलाई चुनौती दिन सक्ने शक्तिका रूपमा आएको जिकिर समेत गरे ।

तपाईको प्रतिक्रिया