Advertisement
SKIP THIS
अछामको रामारोशनका बाढी पीडितको प्रश्न-काम नगर्नेलाई किन भोट दिने ?

रासस:अछामको रामारोशन गाउँपालिका-१ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो। खेतसँगै वर्षभरी खान पुग्ने पाक्ने तयारीमा रहेको धान पनि बग्यो।

बाढीले खेत र धान बगाएपछि निराश बनेका विकलाई अनुमगनमा पुगेका सांसद तथा मन्त्रीहरूले राहत उपलब्ध गराउने आश्वासन दिए। सांसद तथा मन्त्रीहरूबाट आश्वासन पाएपछि विकले केही राहतले श्वास फेरे।

तर आश्वासन पाए पनि विकले हालसम्म पनि राहत पाउनु भएको छैन। बाढीले बगाएको विकको खेत अहिले बगरमा परिणत भएको छ।

प्रेम बहादुरको खेत मात्रै होइन त्यो बेलाको नयन विकको चार रोपनी खेत बगाएको थियो। प्रेमबहादुर र नयन विक तत्कालीन समयमा पाएको आश्वासन पूरा नहुँदा राजनीतिक दलका नेताहरूप्रति असन्तुष्ट बनेका छन्। उनीहरू आसन्न निर्वाचनमा गाउँमा पुग्ने नेताहरूलाई यही प्रश्न सोध्ने तयारीमा छन्।

‘विपदको समयमा कसैले केही नगर्ने र निर्वाचनमा आफ्नो हुँ भन्दै आउने नेताहरूलाई भोट किन दिने भन्दै प्रश्न सोध्नेछु’, नयन विकले भने।
हामीलाई राहत चाहिएको बेला नदिनेलाई अहिले कसरी भोट दिने ? भन्दै नयन विकले प्रश्न गरे।

‘हामी दुई वर्षदेखि खेतीपातीविहीन हुँदा पनि के खायौं भनेर कसैले सोधेन’, नयन विकले भने, ‘चुनाव आएपछि सबै समस्याको समाधान हामी गर्छौं भन्नेलाई कसरी विश्वास गर्नु?’प्रेमबहादुर र नयनको मात्रै होइन, त्यो बाढीले स्थानीय नामसरा खनाल खेत पनि बगाएको थियो।

‘५० क्विन्टलसम्म धान फल्ने खेत बाढीले एकै झड्कामा बगायो’, खनालले भने, ‘सन्तानको अध्ययन र घर खर्चको माध्यम नै यही खेत थियो तर यस्तो समस्यामा पनि पर्दा सोधपुछ गर्न कोही आएनन्।’ कैलाश खोलाको त्रासमा आज पनि तटीय क्षेत्रका स्थानीयमा बाँकी छ। बाढीले अस्तव्यस्त भएको रामारोशनका स्थानीयबासीको जीवन पुरानो लयमा फर्कन अझै सकेको छैन।

संघ र प्रदेश सरकारसँग पटक/पटक दीर्घकालीन तटबन्धका लागि आग्रह गर्दा समेत कतैबाट सुनुवाइ नभएको स्थानीय अगुवा दाताराम खनाल बताउँछन्।

‘पछिल्लो दुई वर्षको अवधिमा व्यवस्थापनका लागि कैयन् प्रयास भए तर काम हुन सकेन’, उनले भने।उनले आसन्न निर्वाचनमा राजनीतिक पार्टी हेरेरभन्दा पनि उम्मेदवारको क्षमताका आधारमा मतदान गर्न आह्वान गरेको बताए। ‘कैलाश खोला हाम्रा लागि लामो समयदेखि समस्या बनेको छ। निर्वाचनमा जसले खोला नियन्त्रणका लागि ठोस योजनाका ल्याउँछ हामी उसैलाई भोट दिन्छौं’, उनले भने।

तत्कालीन बाढीले क्षति पुर्‍याएको जयगड, रामारोशन सडक पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन। हिउँदको समयमा अल्पकालीन खोला किनारबाट अस्थायी साधारण बाटो खोलेर सवारी साधन सञ्चालनमा आउने गरे पनि सहज रूपमा सडक सञ्जाल विस्तार नसकेको हो।

सुदूरपश्चिम प्रदेश सरकारले जयगड मुजाबगर सडक कालोपत्रेको काम सुरू गरेपछि खोलाको कटानको बाहनामा निर्माण कम्पनीले काम नै बन्द गरेको छ। बाढीले कटान गरेका कैयन् ठाउँमा नयाँ साधारण बाटो खोल्नुपर्ने भएका कारण पनि सडक निर्माणले गति लिन सकेको छैन।

आसन्न निर्वाचनमा प्रतिनिधि सभाको निर्वाचनका लागि गठबन्धनको तर्फबाट शेरबहादुर कुँवर, नेकपा एमालेको तर्फबाट झपटबहादुर बोहराबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

साथै, प्रदेश ‘क’ बाट गठबन्धनतर्फबाट नेपाली कांग्रेसका मेघराज खड्का, नेकपा एमालेबाट टेकबहादुर कुँवर र प्रदेश ‘ख’ बाट गठबन्धनका नेकपा माओवादी केन्द्रका झपट साउँद, एमालेका कृष्णप्रसाद जैसी प्रतिस्पर्धामा छन्।

तपाईको प्रतिक्रिया