Advertisement
SKIP THIS
सत्ता गठबन्धन ,कांग्रेसले बुझायो ८६ सिटमा चित्त

काठमाडौं :कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस ८६ सिटमा सहमत भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अरू बाँकी सिटबारे दलहरूबीच छलफल हुनेछ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि आफूहरूबीच सहमति भइसकेको बताए । अब लिपिबद्ध गर्न मात्र बाँकी रहेको उनको भनाइ छ । भोलिको बैठकमा प्रतिवेदन नै तयार पार्ने उनको दाबी छ ।

तर, उनले सिट संख्याबारे भने जानकारी दिएनन् । आफूहरूबीच सहमति भइसकेको भएपनि सिट संख्याको विवरण अहिले नै सार्वजनिक गर्न हतार हुने उले बताए ।

“भोलिको बैठकमा प्रतिवेदन तयार गर्छौं । अब लिपिबद्ध गर्ने चरणमा पुगेका छौँ । सिट संख्याबारे भन्न अहिले अलि हतार हुन्छ । अब लिपिबद्ध गरेर शीर्ष नेतृत्वलाई बुझाउँछौँ,” उनले भने । 

कार्यदलको बैठक भोलि अपराह्न ५ बजेका लागि फेरि बोलाइएको छ ।

कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको थियो । कांग्रेसको संस्थापन इतरपक्ष ९० सिटभन्दा तल नझर्ने अडानमा थियो । तर, केहीदिन अघि पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिटमा चित्त बुझाउन कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने कांग्रेससँग ५० प्रतिशत राखेर बाँकीको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया