Advertisement
SKIP THIS
पर्यटनमन्त्रीले जेल हालेका सुरक्षा गार्डलाई रवि लामिछानेले भेटेपछि प्रहरीले बनायो छानबिन समिति

काठमाडौं:पर्यटनमन्त्री जीवनराम श्रेष्ठको गुनासोपछि पक्राउ परेका छायाँ सेन्टरका सुरक्षागार्ड र रवि लामिछानेबीच भएको भेटघाटलाई लिएर छानबिन समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्रबहादुर धानुकले एसपी दिनेश मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताए ।

‘प्रहरी हिरासतमा रहेको व्यक्तिलाई बाहिर ल्याएर भेटेको देखेपछि के कसो भएको को भन्ने बुझ्न समिति गठन गरिएको हो’, एआईजी धानुकले नेपाल प्रेससँग भने । राष्ट्रिय स्वतन्त्र पार्टीका स‌ंयोजकसमेत रहेका लामिछानेले सोमबार दरबारमार्ग प्रहरी वृत्तमा पुगेर सुरक्षागार्ड शेरजंग गुरुङलाई भेटेका थिए ।

गुरुङसँग भएको भेटघाटको तस्बिर र उनीसँग भएको कुराकानीबारे रविले सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । हिरासतमा रहेको व्यक्तिलाई बाहिर ल्याएर बोलेको सामाजिक सन्जालमा छ्यापछ्याप्ती देखिएपछि आन्तरिक छानबिन अगाडि बढाउनु परेको एआईजी धानुकको भनाइ छ ।

गुरुङ अभद्र व्यवहार कसुरमा आइतबारदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको थियो ।

भिसाको कामले छाया सेन्टरमा पत्निसहित पुगेका पर्यटनमन्त्री श्रेष्ठलाई लाइनमा बस्नुस् भन्दा आफूलाई उल्टै थुनेको आरोप सुरक्षागार्ड गुरुङको छ ।

तपाईको प्रतिक्रिया