Advertisement
SKIP THIS
न्युरोडमा रहेको सुरज अर्केडका अनधीकृत संरचना भत्काउन २ डोजर पुगे

काठमाडौं:अनधिकृत संरचना भत्काउने अभियान थालेको काठमाडौं महानगरपालिकाले आज न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन सुरु गरेको छ।

अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर पठाएको छ। बेसमेन्टमा रहेको पसलले सामान हटाउन सुरु गरेका छन्। अनधिकृत पसल हटाउन महानगरपालिकाको टोली पुगेपछि सामान हटाउन सुरु गरिएको हो।

नगर प्रहरीले सामान हटाउन समय दिने बताएको छ। व्यापारीहरूले धमाधम सामान हटाउन सुरु गरेका छन्। महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ।

मेयर बालेन्द्र साह (बालेन) आफैं पुगेर विभिन्न ठाउँका अवैध संरचनाहरू भत्काएका थिए। नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै मेयर साहको निर्देशनमा महानगरले भत्काउन थालिएको हो।

अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौं मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ।

यस्तै त्रिपुरेश्वरस्थित राहादानी विभागको अन्डरग्राउन्ड पनि महानगरले खाली गराएको छ। दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन महानगरले निर्देशन दिइसकेको छ।

महानगरको निर्देशनलाई अटेरी गर्दा अवैध संरचनामा डोजर चलाउन महानगर बाध्य भएको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।

तपाईको प्रतिक्रिया