Advertisement
SKIP THIS
“बिकृतिमा भासिदै गएको हरितालिका तीज”

विभिन्न चाडपर्वहरु मध्ये हरितालिका तीजलाई नेपाली महिलाहरुको महान् पर्वको रुपमा लिइन्छ । भाद्र शुक्ल तृतीया तिथि तथा हस्ता नक्षत्रले युक्त दिन मनाइने तीज पर्वले महिलाहरुको धर्म र संस्कृति बोकेको छ ।
पौराणिक मान्यता अनुसार :-
भगवान् विष्णुसंग विवाहित हुन नपरोस् भनी संगीनीद्वारा हरेर जङ्गल पुर्याएकी माता पार्वतीले आफूले मनदेखि चाहेको वर महादेवलाई पतिका रूपमा पाउनका लागि गरेकी थिइन् । त्यहीँ दिनदेखि वर्तमान समयसम्म यो व्रत निरन्तर महिलाहरूले गर्दै आएको पाइन्छ ।भनिन्छ तीजको व्रत गर्ने महिलाहरू माता पार्वती जस्तै सुखपूर्वक पतिरमण भएर शिवलोकलाई प्राप्त गर्दछन् । विवाहित महिलाले पतिदेवको लामो आयुको कामना गर्दछिन् भने , अविवाहिताहरूले सोचेजस्तो वर पाउँनकालागि यो व्रत गर्दछन् । तृतीयाको दिनमा व्रत आरम्भ गरेर चतुर्थीका दिन गणेशको विशेष पूजा पर्दै तेस्रो दिनमा ऋषिहरूकको पूजा गरिन्छ भने, यस महान् पर्वमा शिव – पार्वतीको विशेष पूजाअर्चना हुने गर्दछ । तीज र ऋषिपञ्चमीलाई महिलाहरुले धार्मिक, सांस्कृतिक महत्वको रुपमा लिने गर्दछन् । आफ्ना पतीको दीर्घायु तथा परीवारजनको सुख समृद्धिको लागी व्रत बस्ने चलन पनि तीज पर्वको अर्को धार्मिक पाटो हो । तीज मनाउने शैलीमा एकदमै असह्य आधुनिकताको प्रवेशले गर्दा हाम्रो संस्कृतिमा कता कता धक्का लागेको महसुस हुन्छ ।

पहिले तीजको बेला बिभिन्न मन्दिर,शिवालय ,मैदानमा भेला भएर वर्षौ देखि टुटेका, छुटेका साथी संगिनी भेट भएर नारी बेदनाले भरिएका गीतहरु गाएर मनाउने प्रचलन थियो ।तर त्यो सबै बिस्तारै इतिहास बन्न थालेको छ ।अहिले तीजको दिन पनि यसरी जम्मा हुने प्रचलन घट्न थालेको छ । कहि कतै जम्मा भएपनि गीत संगीत फरक खालका गाउनाले सबैको चाडपर्व प्रतिको चाख घट्न थालेको छ । पछिल्लो समयमा तीज आउनु भन्दा पहिले विभिन्न पार्टी प्यालेस र चारतारे होटलमा दर खाने, साउन्ड सिस्टम बजाएर नाच्नाले पनि तीजको महत्व घट्दै गएको हुनसक्ने धारणा छ ।नेपाली संगीत क्षेत्रमा पछिल्लो समयमा वजारमा आएका गीतले नेपालीहरूको मौलिकपन, नेपाली संस्कृतिलाई फरक तरिकाबाट तोड मोड गर्दै नयाँ पन थपिदै आएका छन् । पछिल्लो पिढीका नयाँ कलाकारहरुले निकालेका सबै खाले गीतहरुमा नेपाली मौलिकता पन नदेखिएको पुराना कलाकारहरुको भनाई छ ।

अहिले हुनेखानेको देखासिकी गर्दै ऋण खाजेरै भएपनि कपडा र गर–गहना किनेर तीज पर्व मनाएका उदाहरण समाजमा ब्याप्त देखिन्छन् । गर–गरहनाहरुको प्रतिस्प्रर्धामा उत्रिएर तीज पर्व मनाउने हो भने यसले पुरानो संस्कृतिलाई धरासायीमा लैजान्छ भन्ने पुराना पिढिको तर्क रहेको छ । यसरी देखासिकीको रुपले बिकृति निम्त्यायो भने निम्न वर्गीय महिलाहरुले यो पर्ब मनाउने भन्दा पनि कसरी छल्ने तर्फ चिन्तित बन्ने देखिन्छ ।

तसर्थ तीजको अर्को मौलिक पक्ष भनेको दुःख, सुख र मनको वेदना पोख्ने हो । गीतहरुले एउटा संस्कृतिलाई बोकेको हुनु पर्दछ । पछिल्लो समयमा नयाँ पुस्ताले बजारमा ल्याएका गीतहरुले उत्ताउला र सामाजिक सद्भाव बिथोल्ने खालका प्रवृत्ति देखिएका छन् ।तीज भनेकोे गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनाहरु पोख्ने ठुलो अवसर हो ।

तीज पर्व नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पुजा गर्ने पर्व हो । विवाह भएर टाढा गएकी चेलीलाई माइतमा ल्याएर दरका रुपमा मिठो–मसिनो खान र राम्रो लाउन दिनु हामी नेपालीको तीज विशेष कर्तव्य हो । त्यसैले जस्तो छ त्यसैमा रमाउनुहोस् ।भव्य तथा परम्परित रूपले तीज पर्वलाई मनाउनुहोस् ।

नारायण मुडभरी
बान्निगढी जयगढ गाउँ पालिका वार्ड नं२कालागाउँ अछाम
हाल -हरिहर सन्यास आश्रम तथा परमानन्द संस्कृत गुरुकुल देवघाट धाम तनहुँ, नेपाल

तपाईको प्रतिक्रिया