Advertisement
SKIP THIS
शिक्षकको विज्ञापन फागुनभित्र

काठमाडौं:शिक्षक सेवा आयोगले चालु आर्थिक वर्ष २०७९/०८० को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार स्थायी शिक्षकको पदपूर्तिका लागि आगामी फागुनभित्रमा विज्ञापन गरिसक्नेछ ।

वैशाखभित्रमा प्रथम चरणको परीक्षा गरिसक्ने कार्ययोजना आयोगको छ । आयोगले माध्यमिक तृतीय तहको विज्ञापन पुसभित्रमा निकाल्नेछ । त्यस्तै निम्न माध्यमिक तहको विज्ञापनका लागि सूचना माघभित्रमा निकाल्नेछ । भने प्राथमिक तहका लागि फागुनभित्रमा विज्ञापन आह्वान गर्नेछ ।

माध्यमिक तहको सामान्य परीक्षा फागुनमा, निम्न माध्यमिक तहको चैतमा र प्राथमिक तहको परीक्षा वैशाखभित्रमा गरिसक्ने कार्यतालिका छ । सामान्य परीक्षा वैशाखभित्रमा गरिसक्ने भनेपनि त्यसको नतिजाका विषयमा भने आयोगले कार्यतालिकामा केही उल्लेख गरेको छैन् । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले चालु आर्थिक वर्षमा सामान्य परीक्षा मात्र लिन सकिने बताए । अघिल्लो आर्थिक वर्षमा लिइएको स्थायी शिक्षक विज्ञापनको नतिजा प्रकाशन गर्न सकिएको छैन् । त्यसका लागि अझै केही समय लाग्ने आयोगले जनाएको छ ।

‘पुरानो नै सकिएको छैन् । हामीले यो आर्थिक वर्षमा परीक्षा गर्न मात्र सक्छौं । सिफारिस गर्न सकिँदैन । आर्थिक वर्ष २०८०÷०८१ मा अन्तर्वार्ता लिने, सिफारिस गर्ने लगायतका काम हुन्छन् ।’ सूचना अधिकारी मरहठ्ठाले भने । असारभित्रमा बाँकी काम गर्न नसकिने भएकाले वार्षिक कार्यतालिकामा थप कामहरू उल्लेख नगरिएको उनको भनाई छ ।

‘माध्यमिक तहको वैशाखसम्ममा सामान्य परीक्षा गर्न सकिनेछ । अरूको कसैको चैतमा, कसैको वैशाखमा हुनेछ । बाँकी परीक्षा र प्रक्रिया आगामी आर्थिक वर्षमा जानेछ,’ मरहठ्ठाले भने । अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि चैत÷वैशाखभित्रमा विज्ञापन आह्वान गर्नेछ । भने असारमा परीक्षा गर्ने कार्यतालिका बनाएको छ ।

तपाईको प्रतिक्रिया