Advertisement
SKIP THIS
कांग्रेस नेता गिरिको आइसियू राखेर उपचार सुरु

काठमाडौं: नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ।

साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थ्यमा सुधार नआएपछि अहिले  उनलाई आइसियूमा राखिएको हो।

उनको परिवारका एक सदस्यले सेतोपाटीलाई दिएको जानकारीअनुसार पछिल्लो समय गिरिको स्वास्थ्यमा थप समस्या देखा परेको छ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गत मंगलबार गिरिलाई भेट्न मेडिसिटी अस्पतालमा पुगेका थिए। त्यसयता कांग्रेस नेताहरू र गिरिका शुभचिन्तक उनलाई भेट्न गइरहेका छन्। 

स्वास्थ्यमा समस्या देखिएपछि गत वर्ष साउनमा गिरि उपचारका लागि भारतको मुम्बई गएका थिए। करिब एक वर्ष उपचारपछि गिरिलाई यही साउनमा स्वदेश ल्याइएको थियो।

गिरिको घाँटीमा क्यान्सर भएको छ। साथै निमोनिया पनि देखिएको छ। निमोनिया देखिएपछि मेडिसिटी अस्पतालमा राखेर उनको उपचार जारी छ।

अस्पतालका डाक्टर पंकज वर्मनसहित चिकित्सक टोलीले गिरिको उपचार गरेका छन्।

घाँटीमा देखिएको क्यान्सर पछिल्लो समय शरिरका अन्य भागमा पनि फैलिँदै जाँदा र निमोनियासमेत हुँदा गिरिलाई थप समस्या देखिएको हो।

‘निमोनिया निको नभएको र क्यान्सर शरिरको अन्य भागमा पनि फैलँदा अवस्था बिग्रिएको छ,’ परिवारका ती सदस्यले भने,‘डाक्टरहरूले आफ्नो प्रयास जारी राख्नुभएको छ।’

तपाईको प्रतिक्रिया