Advertisement
SKIP THIS
अछामका शेर बहादुर समाजवादीबाट मन्त्रीमा सिफारिस

काठमाडौ: नेकपा एकीकृत समाजवादीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भएका शेरबहादुर कुँवर अछामको साविक पायल गाविस-५ मा २०२३ सालमा जन्मिएका हुन्। तीन दशक लामो नेकपा एमालेको राजनीति छोडेर कुँवर माधव कुमार नेपाल नेतृत्वको नेकपा समाजवादीमा लागेका हुन्।

कुँवर वि.सं. २०३९ सालमा विद्यार्थी राजनीतिबाट कम्युनिष्ट पार्टीमा होमिएका थिए। अध्ययनका क्रममा विराटनगरमा रहँदा उनी अनेरास्ववियुसँग जोडिएका थिए। उनी २०४७ सालमा बहुदल आएपछि गृहजिल्ला गएका थिए। त्यसबेला उनी तत्कालीन नेकपा मालेको जिल्ला कमिटी सदस्य भएर मूलधारको राजनीतिमा होमिए।

एमाले र मालेको एकीकरण भएर बनेको पार्टीमा पनि उनले जिल्ला कमिटीमा सदस्य रुपमा काम गरेका थिए। त्यो बेला एमालेको जिल्ला कमिटीमा ७ जना मात्रै थिए। कुँवर थपिएपछि संख्या ८ पुगेको थियो। उनी वि.सं. २०४९ सालमा एमाले जिल्ला कमिटीको सचिवालय सदस्य भए। वि.सं. २०५४ सालमा उपसचिव, वि.सं. २०६२ मा सचिव हुदै वि.सं. २०६९ देखि जिल्ला अध्यक्षको रुपमा काम गरेका थिए।

अछाममा नेकपा एमालेको कुशल स‌ंगठन निर्माता कुँवर र एमालेका पूर्व उपाध्यक्ष भीम रावलको एउटै निर्वाचन क्षेत्र नम्बर १ हो। तीन पटक सम्म एमाले अछामको नेतृत्व गरेका कुँवर रावलका विश्वासपात्र थिए। पार्टी विभाजनको स‌ं‌घारमा आइपुग्दासम्म रावल पनि नेपालकै पक्षमा थिए।

अन्तिममा रावलले नेपालको साथ छोड्दा कुँवर पनि रावलको साथ छोडे। अछाममा बलियो जनाधार बनाएका संगठन निर्माणमा अब्बल कुँवरले साथ छोडेपछि रावललाई ठूलो धक्का लागेको छ। रावल मन्त्री बनेर धेरै समय काठमाडौंतिर बस्ने र जिल्लामा कुँवर सक्रिय हुन्थ्ये।

सं‌टकालको बेला सदरमुकाममा रहेर कुँवरले पार्टी जोगाएका थिए। त्यसैको फलस्वरुप कुँवर वि.सं. २०६४ सालको पहिलो संविधानसभा चुनावमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए। त्यसबेला भीम रावल समानुपातिकबाट सांसद बनेका थिए।

कुँवरले जित्दा संगठन बलियो देखेर रावल वि.सं. २०७० र ०७४ सालको चुनावमा प्रत्यक्षतर्फ आफै लडे र जिते। कुँवर २०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थिए। उनको चार वर्षे सांसद अवधि गत फागुनमा सकिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोह छेड्न नेतृत्व गरेका रावलले अन्तिममा धोका दिएको कुँवर टिप्पणी गर्छन्।

तपाईको प्रतिक्रिया