Advertisement
SKIP THIS
यो वर्ष पनि नवौं राष्ट्रिय खेलकुद नहुने

काठमाडौं:राष्ट्रिय खेलकुद परिषद (राखेप) मा सरकारी हस्तक्षेप र अदालती चक्करका कारण नवौं राष्ट्रिय खेलकुद यो वर्ष पनि नहुने लगभग निश्चित भएको छ ।

प्रतियोगिता तयारीको प्रारम्भिक प्रक्रिया नै सुरु नभएको अवस्थामा युवा तथा खेलकुद मन्त्रालय र राखेपले भने यही वर्ष नै प्रतियोगिता आयोजना गर्ने दावी छाडेका छैनन् ।

२०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदको समापन समारोहमा अर्को संस्करण दुई वर्षपछि गण्डकी प्रदेशले आयोजना गर्ने घोषणा गरिएको थियो । तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष सम्पन्न श्रेष्ठ आयोजनाको झण्डा बोकेर पोखरा फर्किएका थिए । २०७७ फागुन २० का लागि निर्धारित समय कोरोना महामारीका कारण भन्दै एक वर्षका लागि सारिएको हो ।

राखेपले राष्ट्रिय खेलकुदका पछिल्ला दुई संस्करण नियमित आयोजना गरी सकारात्मक सन्देश दिएको थियो । त्यसयता कोरोना महामारी, नयाँ खेलकुद ऐनको कार्यान्वयनको सकस, राखेप सदस्य सचिवमा सरकारी हस्तक्षेप र त्यसपछिको अदालतमा पुगेको विवादका कारण राष्ट्रिय खेल आयोजना सर्दै गएको छ ।

सरकारले फागुनमा सम्भव नभएपछि चैतको तेस्रो सातासम्ममा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने तयारी गरेको छ । तर, अहिलेसम्म कार्यविधिलगायत प्रशासनिक काम सुरु नहुनु, नयाँ मिति घोषणा, लोगो/मस्कट सार्वजनिक नगरिनु, जिल्लादेखि नै हुनुपर्ने खेलाडी छनोटको काम सुरु नहुनुले यो वर्ष नै आयोजना हुने सम्भावना टर्दैै गएको छ ।

यो वर्ष आयोजना सम्भव नभएमा २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिएको छ । जेठ महिनादेखि मनसुन सुरु हुँदा खेल प्रभावित हुनसक्ने देखिएको छ । पोखरा देशमै सबैभन्दा धेरै वर्षा हुने ठाउँ हो । आगामी सेप्टेम्बरमा चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीको छनोटका लागि पनि नवौं खेलकुदको यथाशीघ्र गर्नुपर्ने बाध्यता छ ।

अहिलेसम्म कार्यविधिलगायत प्रशासनिक काम सुरु नहुनु, नयाँ मिति घोषणा, लोगो/मस्कट सार्वजनिक नगरिनु, जिल्लादेखि नै हुनुपर्ने खेलाडी छनोटको काम सुरु नहुनुले यो वर्ष नै आयोजना हुने सम्भावना टर्दैै गएको छ ।

हाल राखेपको बोर्ड सदस्य रहेका पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका तत्कालिन कार्यवाहक अध्यक्ष सम्पन्न श्रेष्ठले गण्डकी प्रदेशमा सम्पूर्ण पूर्वाधार निर्माण नभएसम्म राष्ट्रिय खेलकुद हुन नसक्ने दावी गरेका छन् ।

‘विगतमा राष्ट्रिय प्रतियोगिता हतार–हतार आयोजना गरेर आलटालमै टुंग्याउने परिपाटी छ । यसको गम्भीरतालाई हेरेर माहोल निर्माण गरी आयोजना गर्न यो वर्षभित्र सम्भव छैन । केही व्यक्तिको निहित स्वार्थ पूरा गर्नका लागि प्रतियोगिता गर्नुले खेलको विकास हुँदैन’ उनले भने ।

राखेपले गण्डकी प्रदेशका सबै जिल्लाले अपनत्व महसुस गर्ने गरी नवौं खेलकुद आयोजना गर्ने योजना बनाएको थियो । यो भनेको सम्भव भएसम्म सबै जिल्लामा प्रतियोगिताका खेलहरु आयोजना गर्ने भन्ने हो ।

स्थानीय आयोजक गण्डकी प्रदेश खेलकुद विकास परिषदका अनुसार पौडी, सुटिङ र हक्कीबाहेकका पूर्वाधार तयार अवस्थामा छन् । पौडी र सुटिङका लागि दुई वर्षदेखि वजेट विनियोजन भए पनि संरचना निर्माण सुरु भएको छैन ।

‘यो वर्ष आयोजना हुने सम्भावना धेरै साँघुरो हुँदै गएको छ । अहिलेसम्म आयोजनाको प्राविधिक कामहरु सुरु भएका छैनन् । केन्द्रीय सरकारले निर्णय गरेको अवस्थामा हामी प्रतियोगिताका खेल आयोजना गर्न चाहिं तयार छौं,’ गण्डकी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले अनलाइनखबरसँग भने, ‘राष्ट्रिय खेलमा ३६/३७ वटा खेलहरु हुन्छन् । सुटिङ र पौडीबाहेक अरु सबै खेलका लागि हामी तयार छौं । केन्द्रीय सरकार र राखेपले मिति घोषणा गरेर निर्देशन दिँदा हामी तयार छौं भनेर सन्देश दिन चाहन्छौं ।’

सदस्य सचिव गुरुङले नजिकिँदो एसियाली खेलकुदलाई ध्यानमा राखेर पनि छिटो प्रतियोगिता आयोजना गर्नुपर्ने आवश्यकता औंल्याए । उनले थपे, ‘हामीले अहिलेसम्म प्रारम्भिक छनोटको प्रक्रिया सुरु गरेका छैनौं । तर, वैकल्पिक उपाय खोजेर खेलाडी छनोटको प्रक्रिया छोट्याएर भए पनि राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने देखिन्छ ।’

राष्ट्रिय खेलकुदको सुरुवाती संकल्प भनेको देशभरबाट प्रतिभा पहिचान गरी उनीहरुलाई राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउनु हो । देश संघीय संरचनामा गइसकेपछि स्थानीय तहदेखि नै राष्ट्रिय खेलकुदको माहोल सिर्जना गर्नुपर्ने आवश्यकतालाई सरकारले नजरअन्दाज गर्न लागको राखेप बोर्ड सदस्य श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया