Advertisement
SKIP THIS
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाद्धारा पार्टी परित्याग

हेटौंडा:राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन्।

मंगलबार हेटौंडा पुगेका थापाले पत्रकार सम्मेलन गरी आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्।

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टी मै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ थापाले भनेका छन्, ‘राप्रपामा रहँदा पार्टीका साथी सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छु। पार्टीमा रहँदा बिताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहने छु। राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन सबैको भलो होस् भन्ने कामना गर्दछु।’

यसअघि सोमबार उनले आफूपक्षीय नेताको भेला गरेर सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनबाट आफूले उठाएका माग सम्बोधन हुनुपर्ने बताएका थिए।

‘सरकारले सम्भवत आजै स्थानीय तह चुनाव मिति घोषणा गर्न सक्छ। आज अल्टिमेटम दिएर आजै सबै माग पूरा गर्ने भन्ने त होइन तर समय एकदम कम छ,’ उनले भनका थिए, ‘मलाई नयाँ यात्रा सिर्जना गरेर दु:ख बेसाउने मन छैन। तर बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरू हुन्छ। म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्, अन्तरआत्मालाई सोधेर निर्णय गर्नुस्। हामी निर्णायक घडीमा आइपुगेका छौं।’

थापाले पार्टी परित्याग गरे पनि उनले तत्काल राप्रपा विभाजन गराएर नयाँ पार्टी नखोल्ने उनीनिकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए।

‘अब के गर्ने भन्नेबारे छलफल र कुराकानी हुन्छ। अहिलेसम्म नयाँ पार्टीको कुनै तयारी छैन,’ बर्तौलाले भने।

गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले चलखेल गरेर आफूलाई हराएको आरोप लगाउँदै आएका छन्।

यो विषयको छानबिन हुनु पर्ने उनको माग छ। निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मागको सुनुवाइ नगरेपछि थापाले पार्टी परित्याग गरेका हुन्।

थापाले राप्रपा त्यागे पनि उनीनिकट नेताहरू पार्टी पदाधिकारी छन्। उनीहरूले के गर्छन् भन्ने अहिले टुंगो भइसकेको छैन।

तपाईको प्रतिक्रिया