Advertisement
SKIP THIS
पाइलटले आफ्नो ड्यूटी सकिएको भन्दै बिच बाटोबाटै जहाज फर्काए

काठमाडौं : नेपाल एयरलाइन्सको एक जना पाइलटले आफ्नो ड्यूटी आवर सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगञ्ज अवतरण गरिदिएका छन् ।पाइलटको सनकका कारण रुकुम उडेका यात्रुलाई नेपालगञ्ज झारेर बिचल्ली पारिएको छ । यो घटना सोमबारको हो । सोमबार नेपाल एयरलाइन्सको ट्विन अटर विमानलाई तीन बजे रुकुम उडान गर्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले स्वीकृत दिइसकेका थिए ।

त्यसअघि जहाजमा रुकुम जाने सबै यात्रु बसिसकेका थिए । जहाजको ककपिटमा पाइलट पेम्बा शेर्पा बसेपछि एयरहोस्टेजले भनिन्, “हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला ।”जहाज तोकिएको समयमै काठमाडौं एयरपोर्टबाट रुकुमका लागि उड्यो । जहाज रुकुम त उड्यो तर गन्तव्यमा भने पुर्‍याइएन ।

पाइलट शेर्पाले जहाजलाई नेपालगञ्ज विमानस्थलमा अवतरण गराए । किन ? लाग्न सक्छ, विशेष कारणवस जहाजलाई नेपालगञ्ज अवतरण गरिएको हो । तर, वास्तविकता भने त्यस्तो होइन । पाइलट शेर्पाको ड्युटी आवर सकिएका कारण जहाजलाई नेपालगञ्ज अवतरण गरिएको रहेछ ।

पाइलट शेर्पाले आफ्नो ड्यूटी ४ बजे सकिने र करिब त्यही समयमा जहाज नेपालगञ्ज विमानस्थल माथि पुगेकाले आफ्नो ड्यूटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गरिदिएका हुन् । निगम स्रोतले भन्यो, “पाइलटको ड्यूटी सकिएको भन्दै रुकुम जाने जहाजलाई नेपालगञ्जमै अवतरण गरिदिए । उनको सनकका कारण रुकुम उडेका यात्रुले सास्ती भयो । यात्रुलाई होेटेलमा राख्नुपर्दा निगमलाई आर्थिक नोक्सानी ।”

यता, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पाइटलको ड्यूटी आवर एवम् मौसमका कारण रुकुम उडेको जहाज नेपालगञ्ज अवतरण भएको बताए ।“सो जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्नुको कारण पाइलटको ड्यूटी आवर र मौसम पनि थियो,” उनले भने । निगमका अनुसार नेपालगञ्ज अड्किएका यात्रुलाई मंगलबार विहान रुकुम पुर्‍याइएको छ ।

तपाईको प्रतिक्रिया