Advertisement
SKIP THIS
देउवा सरकारमा चार दलबाट १८ जना बन्दैछन् मन्त्री

काठमाडौं:प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलहरूसँग मन्त्री बनाउन नेताहरूको नाम दिन ताकेता गरेका छन् ।

असोजको पहिलो साता नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग देउवाले मन्त्री बन्नेको लिस्ट दिने भनेका थिए । आइतबार पनि देउवाले उनीहरूलाई मन्त्रीको नाम दिन ताकेका गरेका थिए । त्यसपछि प्रचण्ड, माधव र उपेन्द्र मन्त्रीको टुंगो लगाउन आन्तरिक तयारीमा जुटेका हुन् ।

यता, काँग्रेसको रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह पनि मन्त्री बन्नेको नाम छनोट गर्न लागिपरेको छ । उनीहरूले मन्त्री बन्नेको सूची बुझाएपछि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ । सोमबार राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको हो ।

माधव र उपेन्द्रलाई परेको पार्टीगत रूपमा कानुनी र व्यवहारिक जटिलताको गाँठो फुकाउँदा फुकाउँदै सरकार बनेको ७५ बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । करिब तीन महिनासम्म ६ मन्त्री बनाएका प्रधानमन्त्री देउवाले १८ मन्त्रीको भारी आफैँले बोकेका छन् ।

देउवाले बुधबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न खोजे पनि जसपा अध्यक्ष यादव मधेसमा रहेकाले बिहीबारसम्मका लागि धकेलिएको हो । यादव बुधबार काठमाडौँ आइपुगेपछि गठबन्धनको बैठक बसेर मन्त्रीको भागबण्डा र मन्त्रिपरिषद् विस्तारको निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

संख्यागतरुपमा काँग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति छ । भोलि बस्ने बैठक मन्त्रालयगत भागबण्डा टुङ्ग्याउने छ ।

मंगलबार नै गठबन्धनको बैठक राख्ने तयारी भए पनि जसपा अध्यक्ष यादव काठमाडौँ बाहिर भएकाले सोमबार र मंगलबार सत्तारुढ गठबन्धनको बैठक बसेको छैन । प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार गठबन्धनको बैठक बस्ने तयारी छ ।

तपाईको प्रतिक्रिया