Advertisement
SKIP THIS
राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गरेकी छन्। सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश खारेज गर्न सिफारिस गरेको थियो। राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरेको जानकारी दिए।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/६/११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको छ।’

अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद् विस्तार गर्न सत्ता गठबन्धनलाई सहज भएको छ। लामो समयसम्म मन्त्रिरिषदले पूर्णता नपाउँदा सरकारका कामकारवाही प्रभावित हुँदै आएका थिए। सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) ले अध्यादेश फिर्ता गरेपछि मात्र सरकारमा सहभागी हुने बताउँदै आएको छ।  

यसअघि सरकारले नेकपा एमाले र जसपा विभाजनमा सहयोग पुर्‍याउन संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगेमा दल विभाजन हुनेगरी अध्यादेश जारी गरेको थियो। सोहीअनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी बनिसकेका छन्।

तपाईको प्रतिक्रिया