काठमाडौं:प्रभु बैंक लिमिटेडले नगद जम्मा गर्नका लागि बैंक काउन्टरमै पुग्नु पर्ने बाध्यताको अन्त्य गरेको छ । बैंकले ‘क्यास रिसाइकल मसिन’ (सीआरएम) लागू गर्दै पैसा जम्मा गर्न भौतिक रुपमा बैंकको काउन्टरमा उपस्थिति हुनुपर्ने झन्झट हटाएको हो ।
बैंकले शुक्रबारदेखि यो सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यो सेवा पहिलो चरणमा बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा मात्रै उपलब्ध छ । क्रमशः यसलाई देशव्यापी रुपमा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।
यसमा ग्राहकले मसिनमा गएर आफूले रकम जम्मा गर्न चाहेको बैंक खाता नम्बर टाइप गर्नासाथ उक्त मसिनमा रकम जम्मा गर्ने बक्स खुल्छ । त्यसमा जम्मा गर्न चाहेको रकम राख्ने बित्तिकै तत्कालै सम्बन्धित खातामा रकम जम्मा हुने बैंकले जनाएको छ ।
त्यसको जानकारी रिसिप्ट तथा भौचरमार्फत उपलब्ध हुने बताइएको छ । बैंकका अनुसार उक्त मसिनबाट डेबिट/क्रेडिट कार्डको माध्यमबाट समेत आफूले चाहेको खातामा रकम जम्मा गर्न सकिने छ ।
यो सेवाबाट हाल प्रभु बैंकमा रहेका खातामा मात्रै लागू हुनेछ । बैंकका अनुसार आगामी दिनमा यसलाई परिमार्जन गर्दै अन्य बैंकमा रहेका खातामा समेत रकम जम्मा गर्न मिल्ने व्यवस्था मिलाइनेछ ।