काठमाडौं:नेकपा (एमाले)का सांसद भीम रावलले फेरि संसद्मा अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले विभिन्न सन्धि–सम्झौताले देशको स्वाभिमानलाई चोट पुर्याउने गरेको बताए ।
“अहिले फेरि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अमेरिकी सरकारसँग हुन लागेको भन्ने सुन्दै छु,” उनले भने, “संसद्ले सम्झौता अनुमोदन नै नगरी कार्यान्वयन कसरी हुन्छ ? एमसीसीले नुवाकोटमा जग्गा अधिग्रहण कसरी सुरु गर्यो ? पाँचतारे होटेलमा कार्यालय खोलेर सञ्चारमाध्याममा एमसीसीको गीत गाउन कसरी मिल्यो ? नेपाली जनताको राजस्वको दुरुपयोग यसरी गर्न मिल्छ ?”
अमेरिकाका मन्त्रीले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको भनेर विज्ञप्ति जारी गरिसकेको उनले बताए । “अमेरिकका मन्त्रीले नै यो इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनेर विज्ञप्ति जारी गरिसकेका छन् । अमेरिकी मन्त्री आधिकारिक हुन्छन् कि यहाँका व्याख्याता ? यहाँका व्याख्याताले होइन भन्दैमा हुन्छ ?,” उनले प्रश्न गरे ।









