Advertisement
SKIP THIS
समानुपातिक ढंगले आफ्नो मन्त्रालयको बजेट बिनियोजन भएको छ, मन्त्री खड्का

अछाम :सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले  आवश्यकताका आधारमा समानुपातिक ढंगले बजेट विनियोजन गरेको दाबी गरेका छन्। नेपाल प्रेस युनियन अछाम शाखाले सोमबार मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खड्काले आफ्नो क्षेत्रमा बढी बजेट हाल्ने र अरुको क्षेत्रमा कम बजेट हालेको भन्ने कुरा झुटा भएको दाबी गरेका हुन्।

‘आफ्नो क्षेत्रमा बढी बजेट हालेको छ भन्ने कुरामा सत्यता छैन, आवश्यकताका आधारमा योजना छनोट गरेर बजेट हालेको छुँ।’ खड्काले भने-‘आफ्नै क्षेत्रका पनि केही महत्वपूर्ण योजनाहरु छुटेका छन्,आफ्नै क्षेत्रको मन्त्री हुँदा पनि योजना छुटे भनेर रिसाउनेहरु धेरै छन्।’ योजना छनोटमा पक्षपात गर्ने आफ्नो कुनै मनसाय नभएको भन्दै खड्काले सबैलाई समेट्नुपर्छ भन्ने मान्यताले काम गरेको स्पस्ट पारे।

बजेटमा टुक्रे योजनाहरु पनि समावेश भएको विषयमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री खड्काले २५ लाख भन्दा तलका योजना वित्तिय हस्तान्त्रण मार्फत पालिकाले कार्यान्वयन गर्ने बताए । हिजो एमविविएस पढाईमा मात्र मन्त्रालयले छात्रवृति दिँदै आएकोमा यो वर्षको बजेटमा एमडी पढाउनका लागि पनि छात्रवृतिको व्यवस्था गरिएको उनले जानकारी दिए।

अछाम जिल्ला अस्पताल महिनौंदेखि किन प्रमुख विहिन रहेको हो भन्ने प्रश्नको जवाफमा मन्त्री खड्काले जिल्ला अस्पतालले एमडी डक्टर पाउने जानकारी दिए। ‘आज मात्रै स्वास्थ्य मन्त्रीसँग कुरा हुँदा अछाम अस्पतालका लागि एक जना एमडी डक्टरको पत्र बनिसकेको जानकारी पाएको छु,केही दिनमै नयाँ डाक्टर जिल्ला अस्पतालमा आइपुग्छन्।’ खड्काले भने-‘पुरानो दुवै डाक्टर विवादित बनेको नयाँ विषेशज्ञ डाक्टर खोज्दा समय लागेको हो।’

उनले दुर्गमका जनतालाई औषधिको अभाव नहोस् र अस्पताल आफैले चाहिएको औषधि खरिद गरुन् भनेर प्रत्येक जिल्लामा प्रसस्त बजेट बनाएको बताए। यय अघि प्रदेशले नै औषधि खरिद गरेर दिने गरको थियो। बयलपाटा अस्पतालको बारेमा बोल्दै मन्त्री खड्काले कर्मचारीलाई तलब खुवाउन प्रदेश सरकारले बजेट दिन नमिल्ने भएकाले आवश्यक अन्य सामग्री खरिद तथा फोहोरमैला ब्यवस्थापनका लागि बजेट विनियोजन गरिएको बताए।

यसबाट अस्पतालको सेवा प्रवाहमा थप मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे। दातृ निकायको सहयोगमा संचालित अस्पतालहरु दीर्घकालसम्म यसैगरी चल्न नसक्ने भन्दै मन्त्री खड्काले बयलपाटा अस्पतालको दिगो ब्यवस्थापनका लागि अध्ययन गरी सुझाव पेश गर्न कार्यदल गठन गरिने जानकारी दिए। त्यसका लागि बजेट नै व्यवस्था गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया