निराकरण खबर अछाम: अछामका १० स्थानीय तहमा स्वमूल्याङ्कनमा साँफेबगर नगरपालिका पहिलो बनेको छ भने तुर्माखाद गाउँपालिका अन्तिम पुछारमा परेको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सार्वजनिक गरेको गाउँ/नगरपालिकाको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गुणस्तर परिक्षण पश्चात कायम भएको आर्थिक बर्ष २०७९/०८० को स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गर्दा साँफेबगर नगरपालिकाले ७७.२५ अंक प्राप्त गर्दै पहिलो बनेको हो।
अछाम जिल्लामा ७१ अंक प्राप्त गर्दै पञ्चदेवल बिनायक नगरपालिका द्रोस्रो बन्दा ६९ अंक प्राप्त गर्दै मंगलसेन नगरपालिका तेस्रो बनेको छ।अन्तिम बनेको तुर्माखाद गाउँपालिकाले भने ४३.५० अंक पाएको छ।
चौथो बनेको बान्नीगढी जयगढ गाउँपालिकाले ६८.५० अंक प्राप्त गर्दा ६६.५० अंकका साथ मेल्लेख गाउँपालिका पाँचौ बनेको छ।
यस्तै ६४.२५ अंकका साथ कमलबजार नगरपालिका छैटौं,६३.७५ अंकका साथ चौरपाटी गाउँपालिका सातौं,४७.७५ अंकका साथ रामारोशन आठौं र ४७ अंकका साथ ढकारी गाउँपालिका नवौं स्थानमा रहेको छ।
शासकीय प्रकृया र विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारवीच स्वस्थ प्रतिप्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन हुने गर्दछ।
संगठन तथा प्रशासन,न्यायिक कार्यसम्पादन,भौतिक पूर्वाधार,सेवा प्रवाह,सामाजिक समावेशीकरण,वातावरण संरक्षण तथा विपद् व्यवस्थापन,सहकार्य र समन्वय,वित्तीय एवम् अर्थिक व्यवस्थापन र बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन गरि १० ओटा सुचक रहेका हुन्छन् ।