कमल सावद: धनगढी सहित सुदूरपश्चिमका शहरका वायु गुणस्तर सूचकांक झन–झन खराब भएर मानिसको स्वास्थ्यको लागि अत्यन्तै घातक भइरहेको पाइएको छ।
केही दिनयता धनगढीको वायु प्रदूषण १५० एक्यूआई(एयर क्वालिटी इन्डेक्स) भन्दा माथि रहेको पाइएको हो, जुन हावा श्वासप्रश्वासका बिरामीलाई घातक हुनसक्छ।
वन जंगलमा डढेलो, धनगढी लगायतका सहरमा बालिने प्लास्टिकको धुवाँ र धुलोलाई वायु गुणस्तर सूचकांक एक्यूआई बढ्नुको प्रमुख कारण मानिएको छ।
धनगढीकै देवहरिया सामुदायिक वनमा डढेलो लगाउने क्रम रोकिएको छेन। निभाउन कोही लागिपरेको छैन। समुदाय र सरकार आँखा चिम्लिएर बसिरहेको पाइएको छ।
हावा हुरी चल्ने र पानी पर्ने सम्भावना कम भएकाले वायु प्रदूषण अझै बढ्ने चिन्ता छ।
वायु गुणस्तर सूचकांक एक्यूआई १०० भन्दा माथि गएमा त्यो मानव स्वास्थ्यका लागि हानिकारक बन्न थाल्दछ। धनगढीको वायु गुणस्तर सूचकांक एक्यूआइ आइतबार १ सय ५३ छ। २ दशमलव ५ माइक्रोनभन्दा मसिनो धुलोको कणको मापन गरेर एक्यूआई सुचाकांक तयार पारिन्छ।
वरिपरिका वनमा डढेलो र धनगढी महेन्द्रनगर लगायतका सहरहरुमा बालिएको प्लास्टिक र अन्य धुवाँ धुलोका कारण सुदूरपश्चिममा पनि वायु प्रदूषणको अवस्था लगातार विकराल बनिरहेको हावापानीको निगरानी गरिरहेका मौसमविद् बिनोद पराजुलीले बताए।
सुदूरपश्चिम अर्थात पश्चिम नेपालमा पानी पर्ने र हावा चल्ने सम्भावना समेत न्यून रहेकाले वायु प्रदूषण अझै बढ्ने अनुमान गरिएको छ। चिकित्सकहरुले हावामा मसिनो कणको संख्या झनै बढ्ने क्रममा रहेकाले सबै सजग रहनु पर्ने सुझाव दिएका छन्। वायु प्रदूषण बढाउने गतिविधि नगर्न र श्वास–प्रश्वास, छालाका रोगहरुबाट बच्न सेती प्रादेशिक अस्पतालका फिजिसिएन डाक्टर शेरबहादुर कमर सुझाव दिन्छन्।
असारमा मनसुने झरी सुरु हुनु भन्दा अगाडि चैत वैशाखमा पर्ने पानीलाई प्रि–मनसुन वर्षा भनिन्छ। त्यो बेला हुने क्षणिक वर्षा र सक्रिय हुनुपर्ने वायु निष्क्रिय भएकाले अहिले प्रदूषणको मात्रा बढेको विज्ञहरूले बताएका छ।
डढेलोको धुवाँ फैलिइरहेको बेला घरघरमा प्लास्टिक जलाउने क्रम जारी नै छ। त्यसरी प्लास्टिक जलाउने काम निषेध गर्न धनगढी उपमहानगरपालिका पूरै विफल भइरहेको वातावरण विभागका मौसमविद् शंकर पौडेलले बताए।
नेपालमा धेरै जनसंख्या भएका काठमाडौँ, पोखरा, भरतपुर तथा सिमरा जस्ता सहरमा वायु प्रदूषणको समस्या विकराल बन्दै गइरहेको छ।
अब बढ्दो धुलो धुँवाका कारण सुदूरका धनगढी र भीमदत्तनगर पनि सास फेर्ने हावा खराब भएका शहरको सूचीमा पर्न थालिसकेका छन्।