काठमाडौं :नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्त्व वा गुणहरु देखाउन जीपीएमका माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो ।
उक्त नक्साको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । मन्त्रालयका अनुसार देशैभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो । दक्षिण एसियाका अन्य देशहरुमा पनि यो प्रविधिको माटोको नक्सा तयार ती केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सीमित छन् । त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो ।
माटोको जिडिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताइएको छ । माटोमा कुन पोषक तत्त्व छ, कुन पोषक तत्त्व छैन वा बढी छ । रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलैसँग थाहा पाउनसक्छ ।
किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्न सक्छन् ।
देशभरबाट कुल २३ हजार २७३ वटा माटोको नमुना परीक्षण गरी तयार गरिएको यो नक्सांकनले कृषकलाई सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रसायनिक पक्षबारे विस्तृत जानकारी पाउन सक्छन् । नक्सांकन कार्यले किसान मात्र नभई नीति निर्माता, अनुसन्धान कर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघ(संस्था, मल आयातकर्तालाई समेत माटोसम्बन्धी पूर्ण जानकारी दिनेछ ।