Advertisement
SKIP THIS
ओलीजीको उत्ताउलो कूटनीतिले दुर्घटना निम्त्याउन सक्छ

नेपाली कांग्रेसभित्र खरो नेताका रूपमा चिनिन्छन् सांसद डा. मीनेन्द्र रिजाल। राष्ट्रिय राजनीतिका महत्तवपूर्ण घट्नाक्रम तथा परिवर्तनलाई संस्थागत गर्ने यात्रामा कांग्रेसको तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्दै आएका रिजाल पार्टीभित्रको गुटीय राजनीतिमा प्रत्यक्ष रूपमा सामेल छैनन्। अरू दलसँगको संवाद र सहकार्यका लागि सहज पात्रका रूपमा मानिन्छन् पार्टीभित्र।

प्रधानमन्त्रीका अभिव्यक्तिबाट चिसिएको नेपाल–भारत सम्बन्ध, चिनियाँ राजदूतको सक्रियता, राष्ट्रिय राजनीति र कांग्रेसको आगामी महाधिवेशनबारे रिजालसँग अन्‍नपूर्ण पोस्ट्का खगेन्द्र भण्डारीले गरेको कुराकानी :

मुलुकको राजनीति असहज अवस्थामा रहेकाले अब आन्तरिक मामिलामा मात्र सीमित रहेन। समाज पक्ष/विपक्षमा विभाजित छ। यसमा भूराजनीतिक तरंग पनि देखिएको छ। यसलाई कसरी हेर्नुभएको छ ?

यसलाई दुइटा कोणबाट हेर्नुपर्छ। पहिलो कुरा, चिनियाँ राजदूतले वैशाखमा पनि नेकपाभित्रको द्वन्द्व समाधान गरेको भनिन्छ। अहिले नेकपाभित्र विवाद चर्किएका बेला फेरि चिनियाँ राजदूत सक्रिय भएको देखिन्छ। चिनियाँ राजदूतको असाधारण क्षमता त गज्जब रहेछ नि ! अर्काे कुरा, उहाँको व्यक्तित्व पनि आकर्षक छ। राजदूतका रूपमा एउटा महिलाले आफ्नो भूमिका निर्वाह गर्दा त्यसलाई भारतका केही सञ्चारमाध्यम (विशेष गरी जी न्यूज) ले अमर्यादित र निन्दनीय तरिकाले प्रस्तुत गरे। यसले त्यो समाजको मानसिकतालाई मात्र प्रकट गर्दैन, पत्रकारितालाई पनि अमर्यादित बनाउँछ।

तेस्रो कुरा, हामी नेपालीको आत्मसम्मान ठूलो छ। भारतले संविधान निर्माणका क्रममा नाकाबन्दी गर्दा त्यसलाई सहेर बस्यौं तर झुकेनौं। संविधान निर्माणपछि हामीले समृद्ध नेपालको आधार तयार गरेका छौं। अब यही जगमा समृद्धिको महल ठड्याउनुछ। दुनियाँले हामीलाई कसरी हेरिरहेको छ भनेर बुझ्ने र हेर्ने तुलनात्मक ज्ञान भएन भने हामी सम्भावनाको सदुपयोग गर्न पनि सक्दैनौं। योसँग जोडिएको विषय भनेको भारतसँग उभिनका लागि हामीहरू जेजस्तो मूल्य चुकाउन पनि तयार छौं भन्ने खालको सोच विकास भएको छ। चिनियाँ राजदूतको सक्रियताले भारत रिसाए पनि चीन हाम्रो साथमा छँदैछ भन्ने कोणबाट मात्र यसलाई हेरिएको छ।

आमनागरिक सरकारको कार्यशैलीप्रति सन्तुष्ट छैनन्। सरकारले जे बोलेको थियो र जे बोलिरहेको छ, त्योअनुसार डेलिभर गर्न सकेन। कोभिड— १९ को संन्त्रास, सीमा समस्या, अर्थतन्त्र संकुचित छ, धेरैले रोजगारी गुमाएका छन्। यस्तो अवस्थामा पनि प्रधानमन्त्रीले हँसिमजाक गरेको भारतका केही सञ्चारमाध्यम (विशेषगरी जी न्यूज) देख्दा निराशा बढ्नु स्वाभाविक हो। सरकारको कार्यशैलीका कारण उप्रति जनविश्वास गुम्दै गएको आभास हुन्छ। अब त यो सरकार फेरिए हुन्थ्यो नि भन्ने चर्चा चल्न थालेको छ।

चिनियाँ राजदूतको राजनीतिक सक्रियतालाई के भन्नुहुन्छ ?

हिजो भारतीय कूटनीतिज्ञको यस्तै र योभन्दा बढी क्रियाशीलताले नेपाली मानसिकता आजित भएको हो। चिनियाँ कूटनीतिज्ञले सोही व्यवहार गर्दा नागरिक तहबाट राम्रो मानिएको छैन। जुनसुकै देशका भए पनि कूटनीतिज्ञले जुनसुकै नेतालाई जतिबेला पनि भेट्ने विषयले दीर्घकालसम्म असर पुर्‍याउँछ। मुख्य कुरा भारत र चीनबीचको हाम्रो सम्बन्ध ‘सेन्स अफ प्रोपोर्सन’ हुनुपर्छ। भारतसँग चुलिएको विवाद र चीनसँगको सौहार्दपूर्ण सम्बन्धका बीचमा हामीले आफ्ना सीमा बुझ्न सकेनौं भने यो मुलुक हितमा हुनसक्दैन।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएपछि पार्टी एकता गर्नुपर्ने कारण के हो ? यसमा प्रचण्डलाई पार्टी एकता गर्नुपर्ने बाध्यता थिएन। किनकि पार्टी एकता नगर्दै प्रचण्डलाई सत्तामा पुग्न सहज थियो। तर, चुनावी परिणामलगत्तै पार्टी एकता किन भयो भन्ने प्रश्न महत्तवपूर्ण हो। चिनियाँ भूमिकालाई यहाँनेर जोडेर हेरिन्छ। जसको पुष्टि पछिल्लोपटक नेकपा विभाजन हुनैलाग्दा चिनियाँ राजदूतले देखाएको सक्रियताले गर्छ। यसमा चिनियाँ राजदूतको क्षमता र ‘ग्ल्यामर’ मात्र नभई गम्भीर राजनीतिक चासो पनि छ कि भन्ने आशंका हुनु स्वाभाविक हो।

भारतलाई चिढ्याएर चीनसँग नजिक हुने सरकारको रणनीति त होइन ?

पछिल्लो समय भारतीय कूटनीतिज्ञको क्रियाशीलताबारे मलाई जानकारी छैन। हामीले बुझ्नुपर्ने कुरा नेकपा आफैंभित्र द्विविधामा छ। प्रचण्डको पछिल्लो अभिव्यक्तिले त्यसको पुष्टि गर्छ। उहाँले कोही महान् राष्ट्रवादी र कोही दलाल छैन भनेर प्रधानमन्त्रीलाई भन्नुभएको हो। ओली सरकार ढल्नुपर्छ भन्ने कूटनीतिक बृत्तमा चर्चा भएको होला, किनकि प्रचण्ड स्वयं पनि ओली सरकारको बहिर्गमनका पक्षमा हुनुहुन्छ भन्ने समाचार आएका छन्।

ओलीजी हट्ने र नेकपाको अर्काे नेता प्रधानमन्त्री बन्ने कुरालाई प्रचण्डले सुखद रूपमै लिनुहुन्छ होला। उहाँकै भाषामा देशभक्तिकै विषय थियो भने पार्टीको आन्तरिक झगडा त कम गर्नुपथ्र्याे नि। भारतसँग अतिक्रमित भूमि फिर्ताका लागि संवादको वातावरण बनाउनुपर्ने हो तर संवादहीनताको अवस्था छ। विदेशी राजदूतले भेटेर पार्टीभित्रको विवाद मिलाइदिनुपर्ने अवस्थाले हामी सबैलाई लज्जित बनाएको छ। हामी सबैको मनमा उहाँहरूका प्रति गम्भीर आशंका उब्जिएको छ। कूटनीतिक रूपमा भारत र चीनका बीचमा नेपालले जोगाइरहेको सन्तुलन बिग्रेला कि भन्ने चिन्ता हामीमा छ

भारतले नेपालको सीमा अतिक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमले नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको भनेर झुटो अपवाह फैलाइरहेका बेला नेपालको राजनीतिमा चिनियाँ राजदूतको सक्रियताले त्यसलाई बल पुर्‍याउने काम गरिरहेको छ। नेपाल–भारत सम्बन्धमा तिक्तता उत्पन्न गराउने र जनमानसमा नकारात्मक दृष्टिकोण निर्माण गर्न यसले मद्दत गर्छ। अतिक्रमित भूमि फिर्ता गर्ने वातावरण झन् बिग्रँदै गएको छ। प्रधानमन्त्रीले राम र अयोध्याका बारेमा दिएका अभिव्यक्ति गलत छन्। संस्कृति र इतिहाससँग जोडिएको यस्तो संवेदनशील विषयमा यसरी मजाक गर्नु हुँदैन। यसले छिमेकीसँगको सम्बन्धलाई झन् जटिल बनाउँछ। ओलीजीका उत्तेजनाले कूटनीतिमा दुर्घटना निम्त्याउने हो कि भन्ने चिन्ता थपिएको छ। यस्तो बेला नेकपाका नेताहरूले आफ्नो आन्तरिक विवाद सुल्झाउन नसकेर चिनियाँ राजदूत घरघरमा जानुपर्ने परिस्थिति निर्माण गरेर नेपालको अस्मिता जोगाउने काम गर्नुभएको छ कि झन् बिगार्ने ?

भारतसँग बिग्रिएको सम्बन्ध सुधार्न अर्काे कुनै मुलुकको सहारा लिने कुरा उचित हुँदैन। भारतलाई दबाब दिन अर्काे कुनै राष्ट्रलाई तान्न खोज्यौं भने त्यो राष्ट्रका नीतिनिर्माताको बुद्धिमतापूर्ण काम हुँदैन। नेकपाले यसलाई गम्भीर भएर बुझ्नु जरुरी छ। १५÷१६ वर्षअघि एकजना नेपालीले चिनियाँ कूटनीतिज्ञलाई भारत र चीनको नेपाल सम्बन्धबारे सोधेछ। ती कूटनीतिज्ञले भनेछन्, ‘चीनले जहिले पनि नेपालको सरकारलाई समर्थन गर्छ र त्यसलाई जोगाउने काम गर्छ। भारतले कायम रहेको सरकारसँग कचपच भए नयाँ सरकार बनाउनतर्फ लाग्छ।’ यो विषयबारे नेपाल र भारत दुवै देशका नीतिनिर्माताले बुझ्नु जरुरी छ।

नेपाल– भारत सम्बन्ध सुमधुर बनाउन सरकारले कस्तो भूमिका निर्वाह गरेजस्तो लाग्छ ?

हाम्रा प्रधानमन्त्रीले संसद्मा जुन अभिव्यक्ति दिनुभयो, त्यो निन्दनीय छ। व्यवस्थापिका संसद्मा दिएको अभिव्यक्ति सधैं रेकर्डमा रहन्छ। त्यो अभिव्यक्ति भोलि अभिलेखमा रहँदा केपी शर्मा ओली व्यक्तिको मात्र नभई सिंगो मुलुकको अभिव्यक्तिका रूपमा रहन्छ। त्यसकारण प्रधानमन्त्रीले बोल्दा कूटनीतिक मर्यादा ख्याल गर्नैपर्छ।

नाकाबन्दीका बेला प्रधानमन्त्री ओलीको भूमिकालाई सबैले रुचाएका थिए। हामीले खोजेको नेता बल्ल पाइयो समेत भनेको पाइयो। उहाँले समृद्धि र विकासको सपना बाँड्नुभयो, त्यसलाई पनि जनताले पत्याए। नेपालका पक्षमा उभिने मान्छे र विकास गर्ने मान्छे भनेर मतदाताले मत दिए। तर आज उहाँले नेतृत्व गरेको सरकारका गतिविधि हेर्दा आमजनतामा निराशाबाहेक केही छैन। उहाँले देखाउन लायक केही पनि काम गर्नु भएन। उहाँका अभिव्यक्ति सुन्दा हामी बसेको दुनियाँमा होइन, अर्कै दुनियाँको मान्छेजस्ता लाग्न थालेको छ।

जनताको विवेकलाई अपमान गर्ने, आफूमात्र सर्वज्ञानी ठान्ने प्रवृत्तिकै कारण ठूलो संख्यामा युवायुवती सडकमा आए। एउटा इतिहास रचेको व्यक्ति आमनागरिकका बीचमा हाँसोको पात्र बन्नुभएको छ। हरेक विषयमा असन्तुलित अभिव्यक्ति दिँदै आउनुभएको छ र त्यसको मूल्य पनि चुकाउँदै आउनुभएको छ। नेपाली जनताको प्रिय बनेको नेता छोटो समयमा किन यति आलोचित भइरहनुभएको छ ? पार्टी र सरकारमा भएका व्यक्तिले किन मूल्यांकन गर्दैनन् ? परराष्ट्र मामिलामा उहाँले दिएका सतहीखालको अभिव्यक्ति, अभिव्यक्तिलाई गम्भीर रूपमा लिइनुपर्छ।

आलोचनासँगै प्रधानमन्त्री ओलीलाई प्रतिरक्षा गर्नु खोज्नुभएको हो ?

प्रधानमन्त्री ओलीसँग मेरो कुनै विशेष लगाव छैन। सुरुदेखि नै उहाँले कांग्रेसलाई अपमानित हुने अभिव्यक्ति दिँदै आउनुभएको छ। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा ओलीसँग मिलेर सरकार बनाउँदा पनि उहाँ निकै दिक्दारी तरिकाले प्रस्तुत हुने गर्नुहुन्थ्यो। म त्यतिबेला सरकारमा थिएँ। संविधान निर्माण गर्न सहकार्य आवश्यक भएकाले त्यो जोखिमलाई बुझेर कोइराला काममा दत्तचित्त भएर लाग्नुभयो। पहिला कांग्रेसभित्र ओलीका प्रति निकै ठूलो सद्भाव थियो तर अहिले त्यो सद्भाव छैन। कांग्रेसलाई होच्याउने र अपमानित गर्ने काम गरिरहनुभएको छ।

प्रचण्डसँग पनि हामीले शान्ति प्रक्रियादेखि सहकार्य गर्दै आयौं। त्योभन्दा अघिको लडाइँ नै प्रचण्ड र कांग्रेसबीच थियो। द्वन्द्वकालमा कटुतापूर्ण सम्बन्ध भए पनि शान्तिप्रक्रियामा आएपछि मिलेर सरकार बनायौं। तर, उहाँले गिरिजाबाबुलाई अपमान गर्नुभयो। धोका दिनुभयो। त्यसकारण नेकपाप्रति यो पक्षसँग निकट अनि अर्काेसँग रुष्टता भन्ने नै छैन। नेकपाप्रति हामीले बनाउने सम्बन्ध नितान्त व्यवहारिक हो।

नेकपाभित्रको विवादमा कांग्रेसलाई पनि जोड्ने काम भयो। नेपालको संविधानमा प्रधानमन्त्री फेर्ने भनेको संसदीय दलले हो। बहुमतप्राप्त संसदीय दलले नेता फेरेपछि राष्ट्रपतिले प्रधानन्त्री नियुक्त गर्ने हो। संसदीय दलको नेता हुनुपर्छ प्रधानमन्त्री बन्न। नेकपाको संसदीय दलको नेता को बन्ने विषयमा कांग्रेसको संख्या गणना हुँदैन। संसदीय फाँटमा कांग्रेस कमजोर छ। त्यसकारण अहिले नेकपाभित्रको विवाद नितान्त आन्तरिक विषय हो।

नेकपाभित्रको आन्तरिक द्वन्द्वसँग कांग्रेसको कुनै चासो छैन, उसो भए ?

मतलब त हुन्छ नै। यो कम्युनिस्ट पार्टी विभाजन हुँदा म दुखी हुने मान्छे होइन। खालि यति मात्र हो, देश गम्भीर संकटमा परिरहेका बेला कम्युनिस्ट पार्टीले देश सञ्चालन गरिरहेका बेला अहिलेको संकट समाधान नै महत्तवपूर्ण विषय हो। कोरोना संक्रमण, अर्थतन्त्र, सीमा अतिक्रमणबाट मुलुक जेलिरहेका बेला कम्युनिस्ट पार्टी र त्यसको सरकारलाई यी विषयमा कुनै चिन्ता नै छैन। उनीहरू मुलुक र जनताप्रति गम्भीर हुनुपर्छ भन्नेमा कांग्रेसको चासो हो। यस्तो अवस्थामा प्रधानमन्त्रीको सिंहासनमा को बस्ने भन्ने उनीहरूको झगडाबाट जनता निराशामा छन्। चार पुस्ताले दुःख गरेर बनाइएको संविधान संकटमा पर्ला कि भन्ने चिन्ता हो। नत्र कम्युनिस्ट पार्टी फुट्छन्, झगडा गर्छन् भने कांग्रेसले चिन्ता गर्नुपर्ने केही छैन।

आज ओलीजीको असफलता, कम्युनिस्ट पार्टीप्रतिको असफलताले जनतामा रहेको वितृष्णा चुलियो भने लोकतन्त्र र संविधान जोखिममा पर्छ भन्ने चिन्ता हो कांग्रेसको। त्यसकारण म आमजनता र कांग्रेसका शुभचिन्तकलाई भन्न चाहन्छु कि कम्युनिस्ट पार्टीको नेताहरूमा हाम्रो कुनै रोजाई छैन। आजको राजनीतिमा ओलीजीले आफूलाई अरूभन्दा बढी देशभक्त देखाएर जुन पुँजी आर्जन गर्न खोज्नुभएको छ, त्यसबारे हामी सचेत छौं। आजका दिनमा हामी कम्युनिस्ट पार्टीको आन्तरिक विवादमा रमाएर बस्नुभन्दा संगठन निर्माणमा जुट्ने र आम नागरिकका बीचमा जाने विषय महत्तवपूर्ण हो। अब हामी महाधिवेशनमा पनि जुटिसकेका छौं। कम्युनिस्ट पार्टीको तमासामा हामी अलमलिनु हुँदैन।

तर, पछिल्लो समय नेकपाभित्रकै दुवै पक्षले कांग्रेससँग सम्भावित सत्ता समीकरणबारे प्रस्ताव गरेको चर्चा चुलिएको थियो, त्यसमा तपाईंको नाम जोडिएको थियो। यो विषय प्रष्ट पारिदिनुस् ?

यो सरासर झुटो हो। एउटा पार्टीभित्रको सत्तापक्षको एउटा गुट र प्रमुख प्रतिपक्षी मिलेर सरकार निर्माण गर्ने कुरा हाम्रो संविधानमा कहींकतै उल्लेख छैन। यो विपरीत हल्ला चलाउनेहरूलाई केही समय आत्मसन्तुष्टि मिल्ला तर त्योभन्दा बढी केही हुँदैन। यो विषयमा केही दम छैन।

ओली सरकारका तमाम कमजोरीका बीच नक्सा सार्वजनिक गरी संविधान संशोधन गर्नु साहसिक काम होइन र ?

नेपालमा देशभक्त नेता पनि छन् र विकास सम्भव छ भन्ने जुन खालको धारणा बनाउन उहाँ सफल हुनुभयो, त्यसका लागि म प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु। तर, कुरा गर्ने र काम नगर्ने प्रवृत्तिले उहाँ यी दुवै परीक्षामा असफल बन्नुहोला कि भन्ने चिन्ता छ। जहाँसम्म नक्सा र संविधान संशोधनको कुरा छ, ओलीजीलाई यत्तिले पुगेजस्तो लाग्छ। उहाँले गर्नुपर्ने काम गरिसक्नुभयो। कागजमा भूमि ल्याउनु थियो र त्यसको जगमा राजनीतिक पँुजी आर्जन गर्नु थियो। तर, त्यसपछि भूमि फिर्ताका लागि जुनस्तरमा संवेदनशील भएर उहाँ अगाडि बढ्नुपथ्र्याे त्यसविपरीत उहाँका अभिव्यक्ति आएका छन्। नेपालको भूमि फिर्ता ल्याउन उहाँमा गम्भीरता छैन भन्ने यसले पुष्टि गर्छ। हामी सबैको साझा स्वार्थ गुमेको भूमि फिर्ता ल्याउने हो।

नक्सासम्बन्धी संविधान संशोधनका पक्षमा कांग्रेसले संस्थागत निर्णय गर्‍यो। यो निर्णय गर्न कत्तिको सहज थियो ?

हामीकहाँ पनि गहिरो दबाब थियो, निर्णय नगर्न र ढिलाइ गर्न तर हामीले समयमै निर्णय गर्नुपर्छ भनेर बोल्यौं। यो काम छिट्टै सम्पन्न गर्न पार्टीभित्र मैले पनि केही भूमिका निर्वाह गरें। जसले मलाई सन्तुष्टि मिलेको छ। अर्काे कुरा आधुनिक नेपाल निर्माण गर्न र राष्ट्रियता जोगाउन नेपाली कांग्रेसको जस्तो भूमिका अरू कुनै राजनीतिक दलको छैन। कांग्रेस र कांग्रेसका नेताहरूविरुद्ध अतिरञ्जना सिर्जना गर्ने र भ्रम फैलाउने काम पञ्चायती शासकदेखि अहिलेका कम्युनिस्ट नेताहरुले गरिररहेका छन्।

कांग्रेसले फागुनमै महाधिवेशन गर्ने गरी कार्यतालिका परिमार्जन गरेको छ, त्यो सम्भव छ ?

सभापतिजील भन्नुभयो— म फागुनमा महाधिवेशन गर्छु। वरिष्ठ नेताले भन्नुभयो— गर्नैपर्छ। हामी कोरोनाकै कारण चार पाँच महिना ढिला भइसकेका छौं। कोरोनाले कस्तो रूप लिन्छ, नेपाल–भारत सम्बन्धले कुन मोड लिन्छ, अर्थतन्त्र के हुन्छ र मौसमले कत्तिको साथ दिन्छ भन्ने कुरा पनि सँगसँगै जोडिएको छ। तर, पार्टीका सभापति र वरिष्ठ नेता दुबैले फागुनमै महाधिवेशन गर्ने भनिसकेकाले अब यसमा धेरै छलफल गरिराख्नुपर्दैन।

अर्काे कुरा मुलुकमा कम्युनिस्ट पार्टी र सरकारप्रतिको निराशा छाइरहेका बेला आमगनारिकको ध्यान कांग्रेसप्रति खिचिएको छ। महाधिवेशन समयमै सम्पन्न भएर नयाँ नेतृत्व स्थापित भयो भने पार्टीको भविष्य उज्ज्वल हुने विश्वास सबैमा देखिन्छ।

महाधिवेशनमा तपाईंको आकांक्षा के हो ?

सभापतिमा म जित्न सक्ने अवस्था छैन। बाँकी पदमा मेरो स्वाभाविक दाबी रहन्छ। उमेरका कारण पार्टी र संसदीय चुनाव एकपटक लड्ने भन्ने हो। जीवनपर्यन्त चुनाव लडिराख्ने भन्ने मेरो सोच छैन। मैले पनि आउन महाधिवेशनलाई आफ्नो राजनीतिक करियरको महत्तवपूर्ण कडीका रूपमा लिएको छु।

तपाईको प्रतिक्रिया