Advertisement
SKIP THIS
आज बिपिको ४२ औं स्मृति दिवस,को हुन बिपि,जिवनी सहित

काठमाडौं। नेपाली काँग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी सोमबार मनाइँदैछ। नेपाली कांग्रेसले सोमबार विविध कार्यक्रमका साथ बिपी स्मृति दिवस मनाउँदैछ।

बीपीको १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्म भएको थियो भने २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो। जीवनभर प्रजातन्त्रका लागि लडेका बीपी शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता थिए। उनी भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भई भारतीय नेताहरूसँगै जेल परेका थिए।

नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिन्थे। २०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बीपीले त्यसपछि भने सम्पूर्ण राजनीतिक दलको नेता बन्ने अवसर पाए।

बीपी साहित्यमा पनि धुरन्धर मानिन्छन्। राजनीतिमा शालीन मानिने बीपी साहित्यमा भने अराजक थिए। उनका सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाइ, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा अझै पनि चर्चाकै शिखरमा छन्।

बीपीको मेलमिलापको नीतिको चर्चा सदैव रहिरहन्छ। भारतमा निर्वासित जीवन त्यागेर ज्यानको बाजी लगाएर बीपी नेपाल फर्किएपछि राजनीतिले नयाँ मोड लिएको थियो। उनले राजादेखि दलहरु अटाउने किसिमको नीति लिएर फर्केपछि मात्र जनमत संग्रह सम्भव भयो। त्यसपछि दलहरु सक्रिय हुन पाए।

बीपीको त्यो नीति २०४६ सालको बहुदलदेखि गणतन्त्र ल्याउने बेलासम्ममा उत्तिकै महत्व रहेको छ। बीपीको मेलमिलापको नीति सत्ताधारी र विपक्षी दलहरु समझदारीमा आउने बेलामा निकै चर्चामा आउँछ। नेपालका कम्युनिष्टहरु पनि बीपीलाई सम्झिरहन्छन्।

वर्तमान अवस्थामा काँग्रेसले बीपीको नीतिलाई अंगालेको पाइँदैन। गुट उपगुटका कारण पार्टी कमजोर बन्दै गएको अवस्थामा बीपीको नीति सान्दर्भिक भए पनि अहिले काँग्रेसी नेताहरुले यो नीतिलाई भुल्दै गएको गुनासो आउँछ।

को हुन् बिपी कोइराला ?

नेपालका २२ औं प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको जन्म १५ डिसेम्वर १९६० का दिन भारतको बनारसमा भएको थियो। उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन्। उनी नेपाली, हिन्दी भाषाका साहित्यकार थिए। उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, वि.सं. २०१५ देखि २०१७ सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरे।

उनका पिता कृष्णप्रसाद कोइराला राजनीतिक पृष्ठभूमिका व्यक्ति थिए। त्यसैले सानैदेखि बिपीमा राजनीतिक छाप पर्दै गयो। बिपी राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो। आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उनका भाइ मातृकाप्रसाद कोइरालालाई सन् १९८७ मा तीन महिनासम्म बेलायती सरकारले कैद गर्‍यो। यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो।

उनले सन् १९८९ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे। त्यसपछि बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर पूरा गरे। अध्ययन पूरा गरेपछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानून पेशामा काम गरे। विद्यार्थी हुँदा पनि उनी राजनीतिमा नजीक थिए। सन् १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्‍यो। त्यहाँबाट छुटेपछि उनले वि.सं. २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो।

वि.सं. २००४ मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गर्‍याे। सन् १९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक सङ्घर्ष सुरू गरे। २००७ सालमा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो। त्यसपछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने।

वि.सं. २०१५ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेसले विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे। उनको सरकार १८ महिना मात्र सरकारमा रह्यो। बि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइरालाको सरकार भंग गरे। त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिना नै ८ वर्षसम्म कैदमा राखियो।

वि.सं. २०२५ सालमा उनलाई बनारस निर्वासनमा जान दिइयो। वि.सं. २०३३ सालमा उनी नेपाल फर्के। तर तत्कालीन नेपाल सरकारले उनलाई देशद्रोहको अभियोगमा जेलमा राखियो। अन्तर्राष्ट्रिय दबाबका कारण १९३५ मा उनका विरूद्ध लगाइएका सबै अभियोगहरू सरकारले फिर्ता लियो। वि.सं. २०३६ सालको आन्दोलनका बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो। उनको मृत्यु वि.सं. २०३९ सालमा काठमाडौंमा भयो।
विपी कोईरालाका यी २१ भनाइ

१. समालोचक हुन पर्याप्त ज्ञान र सीपको आवश्यक्ता पर्दछ ।

२. कसैको शिरमा कालो टोपी छ वा छैन भन्ने कुराले केहि अर्थ राख्दैन, यथार्थमा संस्कृति भनेको मानवको व्यवहार हो ।

३. म युनिभर्सल कल्चर (विश्व संस्कृति) मा विश्वास गर्दछु ।

४. साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ ।

५. साहित्य सभ्यताको प्रतिक हो ।

६. संगीत र भावको सम्मिश्रणबाट जन्मेको उच्चतम दर्शन नै साहित्य हो ।

७. धर्मको बिरुद्धमा म पटक्कै छेन, छँदै छैन, तर सबैलाई थाहा छ म धर्मको अभ्यास गर्दिन ।

८. तानशाही व्यवस्थालाई प्रजातान्त्रीक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गर्नु हो ।

९. म कुनै आर्थिक विशेषज्ञ होइन,तर जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडिदिन्छ त्यो विाकास विकास नै होइन ।

१०. देश भन्नुहोस् वा राष्ट्र,त्यो भूगोल होइन,त्यो यथार्थमा जनता हो ।

११. समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन ।

१२. हामीले आफ्ना बिरोधीहरुलाई सिद्धान्तको आधारमा जित्नुपर्छ ।

१३. हाम्रो बिरोध कटुताहिन र सैद्धान्तिक हुनुपर्छ,तर व्यक्तिग’त हुनुहुँदैन ।

१४. हामीले आफ्नो सिद्धान्त त्यागेर कोहिसँग पनि सम्झौता गर्नुहुँदैन ।

१५. प्रजातन्त्र नभए देश रहँदैन,राजा रहँदैनन्,हामीहरुको त कुरै भएन ।

१६. मलाई विश्वास छ नेपालमा फेरी प्रजातन्त्र आउँनेछ ।

१७. प्रजातन्त्र बिना देश रहँदैन ।

१८. राष्ट्रियता माटो होइन,जनताको सामूहिक भावना र विचार हो ।

१९. राष्ट्रियता र प्रजातन्त्र अविभाज्य छन् ।

२०. जीवन नै एक सुनिश्चित जोखिम हो ।

२१. मेरो राजनीतिक जीवन खुलेको पाना हो ।

तपाईको प्रतिक्रिया