Advertisement
SKIP THIS
धनगढीको ठडियो थारु संस्कृतिको प्रतीक ‘गुरही’

अत्तरिया : धनगढीको क्याम्पस चोकलाई अहिले ‘गुरही चोक’ भनेर चिनिन्छ । ‘गुरही’ अर्थात् गाइने किराको नामबाट चोकको नामकरण गरिएको हो । चोकको बिच भागमा गुरहीको मूर्तिसमेत बनाइएको छ ।

यो एउटा मूर्तिका नाममा मात्र सीमित छैन, थारु समुदायको पहिचान, प्रकृतिप्रतिको आस्था र वर्षौं लामो संघर्षको जीवन्त प्रतीक पनि हो यो ।
गुरही पर्वको अवसर पारेर बुधबार यस मूर्तिको अनावरण गरिँदैछ, जसले एउटा चोकको नामकरणदेखि सांस्कृतिक पहिचान स्थापना गर्नेसम्मको लामो यात्रालाई साकार पारेको छ । थारु समुदायलाई प्रकृतिपूजक समुदायका रूपमा चिनिन्छ । उनीहरूको जीवनशैली, संस्कृति र परम्परा प्रकृतिसँग गहिरो रूपमा जोडिएको छ । यही प्रकृतिको एउटा जीव हो ‘गुरही’, जसलाई थारु समुदायले देवताका रूपमा पुज्छन् ।

सखी सञ्जालकी अध्यक्ष उन्नति चौधरीका अनुसार यसको पछाडि वैज्ञानिक र सांस्कृतिक दुवै महत्त्व लुकेको छ । ‘गुरहीले धानबालीलाई नोक्सान पु¥याउने हानिकारक किराहरूलाई खाइदिन्छ । त्यतिमात्र होइन, मलेरिया, डेंगु जस्ता रोग सार्ने लामखुट्टे र भुसुनाजस्ता किरालाई पनि यसले आफ्नो आहारा बनाउँछ,’ उनले भनिन् ।

यसरी गुरहीले एकातिर बालीनाली जोगाएर जीविकामा सघाउँछ भने अर्कोतिर रोग व्याधिबाट बचाएर मानव स्वास्थ्यको रक्षा गर्छ । यही कारण पुर्खाहरूले यो किरालाई संरक्षण गर्न र यसको महत्त्व बुझाउन पूजा गर्ने परम्परा बसालेको चौधरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया