अछाम : शान्ति सूचना अमनचयन कायम गरि राखेको अछाम प्रहरीले जनचेतना कार्यक्रम लिएर गाउँ गाउँमा जान थालेको छ। यसै अनुरुप मंगलबार बान्नीगढी जयगढ गाउँपालिका–५, कालिका स्थित नन्दा माध्यमिक विद्यालयमा जिल्ला प्रहरी कार्यालय अछाम सचेतना कार्यक्रम सम्पन्न भएको छ।
बिधालय ब्यावस्थापन समिति अध्यक्ष टंकबहादुर साउदको अध्यक्षता, प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीको प्रमुख आतिथ्यता र विद्यालयका प्रधानाध्यापक सुरत रावलको आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको अछाम प्रहरीले जनाएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा डिएसपी भण्डारीले बालविवाह, बहुविवाह, आत्महत्या, यौन दुर्व्यवहार, लागूऔषध दुर्व्यसन तथा छाउपडी प्रथाजस्ता सामाजिक समस्याका कारण, असर र तिनको न्यूनिकरणका उपायबारे विस्तृत जानकारी दिएका थिए ।कार्यक्रममा आत्महत्या गर्न सक्ने व्यक्तिहरुमा देखिने संकेत, आत्महत्या सम्बन्धी तथ्यांक, र प्रहरीको सक्रिय भूमिका बारे समेत डिएसपी भण्डारीले बताएका थिए ।
कार्यक्रममा सहभागी अभिभावक, जनप्रतिनिधि, शिक्षक/शिक्षिकाहरू तथा विद्यार्थीहरूलाई लक्षित गरी कानूनी व्यवस्था तथा सामाजिक चेतनाको सन्देश दिइएको थियो।यस कार्यक्रमले समुदायस्तरमै सचेतना फैलाउने र सामाजिक विकृतिहरू न्यूनीकरणमा सहयोग पुग्ने विश्वास प्रहरीको रहेको छ।