पहाडी क्षेत्रमा पाइने चिउरी नामको बिरूवाबारे तपाईं केही न केही अवश्य थाहा होला। चिउरीको बोट देख्नुभएको पनि होला। यसको फल खानुभएको पनि छ कि! चिउरीको बहुउपयोगिताबारे जानकार पनि हुन सक्नु हुन्छ!
चिउरी समुद्री सतहबाट तीन सय मिटरदेखि एक हजार पाँच सय मिटरसम्मको मध्यपहाडी क्षेत्रमा हुने सदाबहार बिरूवा हो। यसको रूख २० मिटरसम्म अग्लो हुन्छ। रूख झ्याम्म हुने गरी हाँगा फैलिएका हुन्छन्।
चिउरी उपयोगी बिरूवा हो। यसमा निकै बाक्लो गरी ससाना दाना फल लाग्छ। फल खाने चलन छ। यसको बिउ पनि निकै उपयोगी छ। बोटको बोक्रा टन्सिल, कुष्ठरोग, मधुमेहजस्ता रोगमा औषधिका रूपमा प्रयोग हुन्छ।
सामान्य तापक्रममा जम्ने भएकाले गाउँघरमा ‘चिउरीको तेल’ नभनेर ‘चिउरीको घिउ’ भन्ने चलन छ। चिउरीको घिउ तोरीको तेलसरह भान्सामा प्रयोग हुन्छ। चकलेट, मैन, साबुन, मल लगायत औद्योगिक उत्पादनमा पनि प्रयोग हुन्छ।
वैज्ञानिक नाम Diploknema butyrcea (Roxb.) H.J.Lam. भएको चिउरी Sapotaceae परिवारमा पर्छ ।
अंग्रेजीमा यसलाई Butter tree भनिन्छ । समुद्र सतहबाट २०० देखि १,५०० मिटर सम्मका भीरपाखा, नदी किनार तथा खोचमा हुर्कने चिउरीको रुख १५ देखि २० मिटर सम्म अग्लो हुन्छ ।
नेपालमा पुर्व देखि पश्चिम सम्मै पाइए पनि मध्य र सुदुर पश्चिम क्षेत्रमा चिउरी बढी पाइन्छ । घमाईलो पाखाको ओसिलो माटोमा सिमल, मालु लहरा, धयरो, सल्लो, टुनी भएका ठाउँमा राम्ररी हुर्कन्छ । चिउरीको एउटा बोटबाट ५० देखि १५० किलोग्राम सम्म बिजुला निस्कन्छ । धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षको रुपमा लिइन्छ ।
हल्का पहेलो रंगको फूल हुने चिउरी असोज कार्तिकदेखि माघ सम्म फुल्छ । अनि फागुनदेखि असारसम्म फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेंलो हुन्छ । फलभित्र १ देखि ३ वटा सम्म बिजुला हुन्छन् ।
चिउरीका फाइदाहरु
१. चिउरीको पात गाइवस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ ।
२. यसको घिउ खान (तरकारी पकाउन र सेल रोटी पकाउन) र औषधिको रुपमा (खुट्टा फुटेकोमा, घुँडा दुखेकोमा, अनुहारमा आएको दाग हटाउन) प्रयोगमा आउँछ ।
३. चिउरीको घिउ साबुन र मैनबत्ति बनाउन उपयोगी हुन्छ ।यसलाई पेलेर बाँकी रहेको पिनाबाट जैविक मल र किटनाशक औषधी बनाउन सकिन्छ ।
४. चिउरीको काठबाट विभिन्न सामान बनाउन सकिन्छ । यसको फल सिधै खान पनि मिल्छ । यसबाट जुस, जाम बनाउन र रक्सी बनाउन सकिन्छ ।
५. चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ ।