काठमाडौं:सरकारले ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिकहरूका लागि छुट्टै अस्पताल स्थापना गर्ने निर्णय गरेको हो ।
बैठकमा ज्येष्ठ नागरिकहरूका लागि छुट्टै अस्पताल स्थापना गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्ताव मन्त्रिपरिषद् स्वीकृत गरेको हो । अस्पताल कहाँ खोल्ने भन्ने विषयमा अब छिट्टै प्रक्रिया थालिने मन्त्री खतिवडाले बताए ।
‘चितवन, मकवानपुर, सिन्धुली, काभ्रे, धादिङ, कहाँ स्थापना गर्ने हो, देशको मध्य मागमा स्थापना हुनेछ, अब चाँडै जग्गा खोज्ने प्रक्रिया अघि बढ्छ,’ खतिवडाले भने ।
साथै, बैठकले ५० वर्षमाथिका सबै नागरिकलाई वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय पनि गरेको छ । मन्त्री खतिवडाले भने, ‘रोगको पहिचानका लागि पनि उमेर समूहका हिसाबले वर्षमा त्यस्ता नागरिकको एक पटक स्वास्थ्य परीक्षण गर्न आवश्यक छ, रोग पहिचान भएपछि उपचार गर्न सजिलो होस् भन्ने सरकारको चाहना हो ।’