Advertisement
SKIP THIS
देशैभरका विद्यालयमा इन्टरनेट जोड्दै प्राधिकरण

काठमाडौं:नेपाल दूरसञ्चार प्राधिकरणले देशभर २० एमबीपीएस गतिको इन्टरनेट पुर्‍याउने उद्देश्यका साथ अघि बढाएको परियोजनामा स्थानिय तहलाई सम्झौता लागि आउन पुनः आह्वान गरेको छ । प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै यसअघि सम्झौता गर्न बाँकी रहेका स्थानीय तहलाई बोलाएको हो ।

यसअघि ग्रामीण दूरसञ्चार परियोजनामार्फत सञ्चालनमा रहेको ब्रोडब्यान्ड परियोजनालाई परिष्कृत गर्दै २० एमबीपीएस इन्टरनेटमा स्तरोन्नति गर्ने निर्णय भएको छ । हाल यस परियोजना अन्तर्गत जम्मा ५१२ केबीपीएसको इन्टरनेट रहेको छ । यस्तोमा यसलाई परिष्कृत गर्दै न्यूनतम २० एमबीपीएस बनाउने गरी अघिल्लो आर्थिक वर्षको अन्त्यबाट यो परियोजना अघि बढाइएको थियो ।

जसअन्तर्गत देशभरका हरेक वडा, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयहरूमा न्यूनतम २० एमबीपीएस गतिको इन्टरनेट पुर्‍याइने छ । त्यसको सुरुवात भूकम्पबाट अति प्रभावित ८ जिल्लाबाट भएको थियो । प्राधिकरणका अनुसार उक्त परियोजनामध्ये भुकम्पबाट अति प्रभावित ८ जिल्ला (काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा) का कूल ७६ मध्ये ७१ गाउँपालिका र नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

त्यस्तै भुकम्पबाट अति प्रभावित ८ जिल्ला र काठमाडौं उपत्यका बाहेकका ६६ जिल्लाका सबै सामुदायिक विद्यालयमा २० एमबीपीएस गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालनका लागि काम अघि बढाइएकोमा कूल ६५६ मध्ये २६७ स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको प्राधिकरणले जनाएको छ ।

सम्झौता अनुसार तोकिएको स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्थाहरूमा जडान गरिएको इन्टरनेटको क्षमता अभिवृद्धि गर्ने योजना छ । जसमा प्राधिकरणले स्थानीय तहसँग सम्झौता गरी दुई वर्षसम्मको लागत तथा महशुल बापतको रकम उपलब्ध गराउने जनाइएको छ ।

यस्तोमा प्राधिकरणले सम्झौता गर्न बाँकी रहेका अन्य स्थानीय तहलाई सम्झौता गर्न आह्वान गर्दै अन्तिम सूचना जारी गरेको हो । प्राधिकरणले यसअघि पनि यस्तै सूचना जारी गरेर स्थानीय तहलाई जानकारी गराएको थियो । यसपटक भने सूचना प्रकाशित भएको मितिले एक महिनाको अवधि दिएको छ । यो अवधिमा समेत नआएको खण्डमा प्राप्त सूचीलाई नै अन्तिम मानी कार्यक्रम अघि बढाउने प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया