काठमाडौंःभोलि शुक्रबारदेखि ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ। पहिलो चरणमा बागमती प्रदेशबाट अनलाइनबाटै सवारी कर, नवीकरण, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै नवीकरण गर्ने सुविधा उपलब्ध हुने भएको हो।
प्रदेश राजधानी हेटौडामा मुख्यमन्त्री डोरमणि पौडेलले यो सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बागमती प्रदेश अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार वेबपोर्टल र नागरिक एपबाट यस किसिमको सुविधा उपलब्ध हुनेछ।
प्रदेश सरकारले यसका लागि छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार पारेको छ। यससँगै बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवाहरू अबदेखि यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध हुनेछन्।
त्यसो त प्रदेश मन्त्रालयले गत असार २४ मै यो प्रणाली लागु भएको सूचना प्रकाशित गरेको थियो। तर पूर्ण प्राविधिक तयारी तथा भुक्तानी सुविधा सहितको सिस्टम बल्ल तयार भएको हो।
नागरिक एपमा पछिल्लो अपडेटमार्फत “सवारी कर” फिचर आइसकेको छ। जसमार्फत आफ्नो सवारी साधनको विवरण, यस अघि कर तिरिसकेको विवरण र तिर्न बाँकी कर लगायतको जानकारी लिन सकिन्छ।
अब भोलि शुक्रबारदेखि तिर्न बाँकी रहेको कर अन्तर्गत अनलाइन भुक्तानीका विकल्प समेत जोडिनेछन्। बागमती प्रदेशबाट सुरु हुने यो सेवा अब क्रमशः अन्य प्रदेशका यातायात व्यवस्था कार्यालय तथा यातायात सेवा कार्यालयमा समेत विस्तार हुने बताइएको छ।