काठमाडौ । कोरोनाको महामारी दोस्रो चरणमा पनि फैलिएपछि सरकारले विशेष सतर्कता अपनाएको छ । काठमाडौमा कोरोना संक्रमित भइ अस्पताल जानु पर्ने अवस्थाहरुका लागि निशुल्क एम्बुलेन्स सेवा दिइएको छ । महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासिलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो । काठमाडौं महानगरपालिकाले बिहिबारदेखि महानगरबासिका लागि १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको जनाएको छ ।
कोरोना संक्रमित भई अस्पताल जानुपर्ने अवस्थाकाहरुका लागि भन्दै सुरु गरिएको सेवाका लागि महानगरपालिकाले सम्पर्क ब्यक्तिको फोन नम्बर सहित सार्वजनिक गरेको छ । महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघसँग बिहिबारदेखि १० वटा एम्बुलेन्स निःशुल्क सञ्चालन गर्नको निम्ति सम्झौता गरेको हो । निषेधाज्ञाको समयमा काठमाडौंबासिलाई पर्ने स्वास्थ्य समस्या समाधानका लागि घरबाट अस्पताल, अस्पतालबाट घर र अस्पतालबाट अस्पताल सम्मको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले बताए।
महानगरपालिकाले बैशाख १६ गतेदेखि १५ दिनसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने भएको हो । महानगरपालिकाले १५ दिनका लागि प्रति एम्बुलेन्स एकमुष्ठ कर सहित १ लाख २१ हजार रुपैँया संयुक्त एम्बुलेन्स चालक संघलाई दिइने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
एम्बुलेन्सले काठमाडौं महानगरपालिका भित्र २४सैं घण्टा सेवा प्रदान गर्ने जनाइएको छ । महानगर प्रमुख बिद्यासुन्दर शाक्यले कहिँकतैबाट पनि गुनासो नआउनेगरी सेवा दिन एम्बुलेन्स चालकहरुलाई आग्रह गरे । कसैलाई हेलचेक्र्याई र दुव्र्यवहार नगरी सेवा प्रवाह गर्न उहाँले निर्देशन समेत दिए।