कोरोना महामारी नियन्त्रण गर्न यतिखेर विश्वभर सजगताका साथै नयाँ-नयाँ खोपहरू सार्वजनिक गरिँदैछ। खोप लगाएपछि संक्रमित नहुने र भइहाले पनि निको हुने विश्वास मानिसहरूमा छ।
अहिले विकसित गरिएका अधिकांश खोपहरूको दुई डोज छ। पछिल्ला खोपहरू पहिलो डोज लगाएको तीनदेखि चार साताभित्र दोस्रो डोज लगाउनुपर्ने गरी विकास गरिएको छ।
तर, अहिले विश्वका धेरै देशमा खोप अभाव छ। उत्पादन र ढुवानी लगायत कारणले ती देशका धेरै मानिसहरूले खोप लगाउन पाएका छैनन्।
यस्तो अवस्थामा, पहिलो डोज खोप लगाएका, तर विभिन्न कारणले दोस्रो डोज समयमै लगाउन नसकेको अवस्थामा के हुन्छ भन्ने प्रश्न मानिसहरूमा उब्जिरहेको हुनसक्छ।
न्यूयोर्कको रोचेस्टर युनिभर्सिटीका सूक्ष्म जीवविज्ञानी र इम्यूनोलोजिस्ट डेभिड तोपहम भन्छन्, ‘यो वास्तवमै समस्या होइन।’
फाइजर-बायोटेकले क्लिनिकल ट्रायल गर्दा सहभागीहरूलाई २१ दिनको अन्तरमा खोप लगाइदिएको थियो। मोर्डना खोपको परीक्षणमा सहभागीहरूले २८ दिनको अन्तरमा खोप लगाएका थिए।
अमेरिकी खाद्य तथा औषधि नियामक (एफडीए) ले त्यतिखेर यी खोपलाई आपतकालीन प्रयोग अनुमति मात्रै दिएको थियो। यी दुवै समयान्तर कायम गरी खोप लगाएकाहरूमा कुनै समस्या नदेखिएको द भ्याक्सिन अलाएन्स (गाभी) मा उल्लेख छ।
खोप लगाउने समयान्तर केही लम्बिँदैमा खासै असर नपर्ने एफडीएले जनाएको छ। रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्रले पनि कोभिड भ्याक्सिनको दोस्रो डोज तोकिएको समयभन्दा ४ दिन पहिले या ४२ दिनसम्म ढिला गरेर लगाउँदा पनि हुने जानकारी दिइसकेको छ।
भ्याक्सिनका दुई डोज कति अन्तरालमा लगाउँदा प्रभावकारी हुन्छ भन्ने एकीन तथ्य अहिलेसम्म निस्किसकेको छैन। तर, छिटो या कति समय ढिला गरी लगाउँदा हुने भन्नेबारे चाहिँ नियामकहरूले जानकारी दिइरहेका छन्।
यहाँनेर, पहिलो र दोस्रो डोज खोप लगाउने समयान्तर कुन कम्पनीको खोप हो भन्ने कुराले निर्धारण गर्छ।
अधिकांश भ्याक्सिनको किन दुई डोज ?
अहिले बजारमा अधिकांश कोरोना भ्याक्सिन दुई डोज लगाउनुपर्ने गरी ल्याइएको छ।
शुरूमा लगाइने खोपलाई प्रिमिङ डोज र दोस्रोलाई बुस्टर डोज भनिएको छ।
जान्सेनले एकै डोज लगाउने खोप तयार गरेपनि यो परीक्षण क्रममै छ।
पहिलो डोज खोप लगाएपछि शरीरमा भएका प्रतिरक्षा कोषहरूले सम्भावित खतरासँग जुध्न सक्छन्। खतरासँग सामना गर्नसक्ने शक्ति विकास हुन अर्थात एन्टीबडी बन्न केही साता समय लाग्छ।
प्रिमिङ डोज खोप एक प्रतिरोधात्मक मिलन र अभिवादन जस्तै भएको बताएको छ। बुस्टिङ डोज लगाएपछि चाहिँ प्रतिरक्षा कोशिकामा हुने खतरा निस्तेज हुन्छ र संक्रमण जोखिम निकै घट्छ।
एन्टीबडी बनाउने कोषलाई ‘बी सेल’ भनिन्छ। खोप विकासकर्ताहरूका अनुसार यी कोषहरूले पहिलो खोप लगाएपछि प्रतिरक्षाका लागि निकै ठूलो भार उठाउँछन्।
यदी ‘बी सेल’ हरूसँग भ्याक्सिनको पहिलो र दोस्रो डोजबीच पर्याप्त समय भएन भने उनीहरूले उत्पादन गर्ने एन्टीबडी सोचेजस्तो बलियो हुँदैन। तर, खोपको पहिलो डोज लगाएको ६ हप्ताभित्र दोस्रो डोज लगाउन अतिआवश्यक छ।
फाइजर-बायोटेक, मोर्डना र स्पुतनिक भ्याक्सिन लगाएका हरेक १० मध्ये ९ जना कोरोना संक्रमण हुनबाट जोगिएको पाइएको छ। एस्ट्राजेनेका सिनोफार्म भ्याक्सिन लगाएका १० मध्ये ७ जना संक्रमणमुक्त भएको अनुसन्धान प्रतिवेदनहरूमा दाबी गरिएको छ।