काठमाडौं:मेगा बैंक नेपाल लिमिटेडले कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । बैंकले कृषि क्षेत्रमा डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्न ललितपुरको कुसुन्तीस्थित सांग्रिला एग्रो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकले सांग्रिला एग्रोले कुसुन्तीमा सुरु गर्न लागेको तरकारी तथा फलफूल बजारसँग आबद्ध सबै कृषि उत्पादक तथा बिक्रेतालाई बैंकिङ सुविधा तथा कर्जा सुविधा प्रदान गर्नेछ ।
यस्तै, सांग्रिला एग्रोसँग आबद्ध कृषक र बिक्रेताहरुलाई निःशुल्क क्यूआर कोडको व्यवस्था गर्ने बैंकले जनाएको छ । उक्त बजारबाट क्यूआर कोड प्रयोग गरी तरकारी तथा फलफूल खरिद गर्ने ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट अथवा बढीमा ५०० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।
उक्त सम्झौतापत्रमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सांग्रिला एग्रोका अध्यक्ष गणेशबहादुर सुवेदीले हस्ताक्षर गरेका थिए ।