Advertisement
SKIP THIS
सत्ती भन्सार कार्यालय खक्रौलाको राजश्व लक्ष्यभन्दा दोब्बर

रासस कैलाली:कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महिनामै भन्सार राजश्व लक्ष्यभन्दा दोब्बर सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७र७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ ।

कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा रु छ करोड सात लाख राजश्व उठाउने वार्षिक लक्ष्य दिएको थियो । त्यो लक्ष्य पहिलो चौमासिकमै पूरा भएपछि थप आठ करोड बढाएर १४ करोड राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो ।

चैत मसान्तसम्म नौ करोड ७१ लाख राजश्व उठाउने लक्ष्य दिएकामा १३ करोड १६ लाख राजश्व सङ्कलन भएको भन्सार प्रमुख विमलकुमार शाहले बताए । “पहिलो चार महिनामै लक्ष्य पूरा गरेपछि सरकारले पछिल्लोपटक थप लक्ष्य लिएको छ । त्यो पनि पूरा भएको छ । वैशाख महिनामै वार्षिक लक्ष्य पूरा हुनेछ”, भन्सार प्रमुख शाहले भने, “कोरोना सङ्क्रमणपछि सीमा नाका खुला नहुँदा मानिस खुलारूपमा सीमापारि आउजाउ गर्न नसक्दा पनि सबै सामान भन्सारमार्फत आउँदा सहज भएको हो । यसले राजश्व सङ्कलनमा सघाएको छ ।”

पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको प्रमुख शाहको भनाइ छ । “खक्रौला भन्सारबाट कपडा, मोटर पार्ट्स र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन्”, उनले भने, “यससँगै भारततर्फको सडक राम्रो भएको भए अझ सामान आयात बढ्ने थियो । नेपाल सरकारले पशु, वनस्पति र खाद्य क्वारेन्टिन स्थापना गरी पशु, वनस्पति र खाद्य सामग्रीको आयातनिर्यातको व्यवस्था गरे अझै राजश्व बढ्ने देखिन्छ ।”

तपाईको प्रतिक्रिया