Advertisement
SKIP THIS
भारत बाट आएकामा कोरोना पुष्टी, सामान्य सरह सार्वजनिक सवारी मार्फत नै घर पठाइयो

कमल सावद धनगढी:शनिबार भारतसँग जोडिएको त्रिनगर–गौरीफन्टा नाका हुँदै फर्किएका एक सय २० जना मध्ये १० जनालाई कोरोना भाइरसको संक्रमण पुस्टि भयो। ‘एन्टिजेन’ विधिबाट गरिएको परीक्षणमा संक्रमण पुस्टि भएका उनीहरुलाई आइशोलेसन वा क्वारेन्टिनमा राख्नुपर्नेमा सोझै घर पठाइएको थियो। यस्तै आइतबार पनि संक्रमण पुस्टि भएका ४ जनालाई पनि सार्वजनिक सवारी साधनमार्फत नै घर पठाइएको छ।

यसरी नाकामा गरिएको परीक्षणमा पोजेटिभ देखिएकालाई अलग्गै राख्नुपर्नेमा घर पठाइन थालिएको छ। आइशोलेसन र क्वारेटाइन व्यवस्थापन गर्न वेवास्था गरिदा संक्रमितहरु धमाधम घर जान थालेका छन्।

अहिले कञ्चनपुरको गड्डाचौकी र त्रिनगर–गौरीफन्टा नाकाबाट आउने संक्रमितलाई सोझै घर पठाउने क्रम बढेको हो।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले क्वारेन्टिन र आइशोलेसन व्यवस्थापनको काम नभएको बताएका छन्। “हामीसँग आइसोलेसन छैन्। अहिले भारतबाट आएकाहरुलाई होम आइसोलेसनमा पठाउदैछौ” उनले भने, “धनगढी उप–महानगरपालिकासंग आइशोलेसन व्यवस्थापनको विषयमा समेत छलफल गर्दैछौ।”

धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा समेत बिरामीको चाप नरहेका बेला संक्रमितलाई सार्वजनिक यातायातमा गाउँ–गाउँ पठाउन थालिएको छ।

यसले संक्रमण गाउँ–गाउँसम्म पुग्ने खतरा बढाएको छ। तर प्रदेश सरकार लगायतका निकाय भने आइशोलेसन र क्वारेन्टाइन व्यवस्थापनका लागि छलफलमै रहेको दाबी गरिरहेका छन्।

सुदूरपश्चिम प्रदेश सरकार, स्वास्थ्य कार्यालय, स्थानीय पालिका, स्थानीय प्रशासनको लापरवाहीकै कारण भारतमा फैलिएको दोस्रो चरणको कोरोना सुदूरपश्चिममा पनि तिव्र फैलिने चिन्ता बढेको छ।

क्वारेन्टाइन व्यस्थापनमा स्थानीय तहहरुले कुनै वास्ता नगरेका बेला प्रदेश सरकारले आइशोलेसन कक्षको व्यवस्थापनमा ढिलाई गरिरहेको हो।

धनगढी उप–महानगरपालिकाको स्वास्थ्य महाशाखाका सिनियर अहेव लक्ष्मीराज उपाध्यायले आइशोलेसन व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको भएको बताए। उनले भने, “हामीले क्वारेन्टिन व्यवस्थापन गर्ने हो। प्रदेश सरकारले आइसोलेसन व्यवस्थापन गर्ने हो। तर भएको छैन्। उहाँहरुले हामीलाई ठाउँ माग्नु भएको छ, छलफलमा छौ।”

प्रदेश सरकारले धनगढी उप–महानगरपालिकासंगको सहकार्यमा आइशोलेसन व्यवस्थापनको बारेमा छलफल थालेको बताएको छ।

धनगढी उप–महानगरपालिका वडा नम्बर १५ को कनरी पार्कमा पुनः आइशोलेसन कक्ष स्थापनाको गृहकार्य थालिएको स्वास्थ्य कार्यालय कैलालीका निमिक्त प्रमुख लालबहादुर धामीले बताए। उनका अनुसार सोमबार जडिबुटी प्रसोधन केन्द्रमा पुनः आइशोलेसन सञ्चालन हुने छ।

गत वर्षको चैतदेखि सुरु भएको कोरोना भाइरसका कारण सुदूरपश्चिममा पनि मानवीय, आर्थिक तथा भौतिक ठुलो क्षती भएका बेला पुनः एक वर्षपछि दोस्रो चरणको कोरोना फैलिने जोखिम उच्च भएको छ।

तपाईको प्रतिक्रिया