Advertisement
SKIP THIS
अछाममा खाद्य सुरक्षाका लागि भकारी परियोजना

चन्द्र बहादुर थापा, अछाम : अछाम सहित कर्णाली जलाधार क्षेत्रका ६ जिल्लामा भकारी परियोजना लागू हुने भएको छ । कर्णाली जलाधार क्षेत्रमा रहेका संकटासन्न तथा सामाजिक वञ्चितीकरणमा परेका घरधुरीको खाद्य सुरक्षा र उत्थानशीलता क्षमता अभिबृद्धि गर्ने लक्ष्यका साथ ६ जिल्लाका २१ पालिकाका २ सय ५१ समुदायमा परियोजना लागू हुने भएको हो ।

परियोजनाका बारेमा आज अछाम जिल्लाका सरोकारवालालाई जानकारी गराईएको छ । युएसएड र मर्सीकोरको सहयोग अछाम जिल्लामा वाक नेपालले परियोजना सञ्चालन गर्न लागेको हो ।

जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाले गर्ने कामबारे जानकारी गराइएको हो ।

परियोजनाले ३ बर्ष सम्म कर्णाली नदीको आसपासमा रहेका सुर्खेत, दैलेख, अछाम, कालिकोट, जुम्ला र मुगु जिल्ला जिल्लाका अति विपन्न २२ हजार ३ सय ५० घरधुरीलाई लक्षित गरी १ करोड ५० लाख डलर लगानी गर्ने भएको छ ।

खाद्य उपलब्धता तथा पहुँचमा बृद्धि गर्ने, उत्पादकत्व बढाउन दिगो रुपमा पानीको पहुँचमा सुधार ल्याउने, प्राकृतिक बिपद्हरुको प्रभावलाई न्यून गर्ने उद्देश्यसहित लैंगिक समानता तथा सामजिक समावेशीकरणलाई केन्द्रविन्दुमा राखेर परियोजना सञ्चालन गरिने परियोजनाका अछाम संयोजक प्रेम विकले जानकारी गराउनु भयो ।

अछामका पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिका गरि १३ वडामा परियोजना लागू हुनेछ । अछाम जिल्लामा २ करोड, ५४ लाख, २८ हजार सात सय ८५ रुपैँया बजेट रहेको छ ।

कार्यक्रममा कमलबजार नगरपालिकाका प्रमुख ओम प्रकाश विष्ट, तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा, पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउने, सरकारी गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधि, सञ्चारकर्मी लगायतले परियोजनाले लक्षित वर्गलाई समेटेर उद्देश्य अनुसार काम गर्नुपर्ने सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया