अछाम :अछाम जिल्लामा ८१ जना क्षयरोगका बिरामी रहेको तथ्यांक सार्वजनिक भएको छ । बिश्व क्षयरोग दिवसको अवसरमा सार्वजनिक तथ्यांक अनुसारमा यस आर्थिक बर्षको फागुन सम्म उक्त संख्यामा बिरामी रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
जिल्लाका पालिकागत तथ्यांक अनुसार यस आर्थिक बर्षको फागुनसम्म तुर्माखाँद गाँउपालिकामा सबैभन्दा कम १ जना र बढी साँफेबगर नगरपालिकामा १८ जना क्षयरोगी फेला परेका छन् । पञ्चदेवल बिनायक नगरपालिकामा ७ जना, रामारोशन गाँउपालिकामा ९ जना, मेल्लेख गाँउपालिकामा ११ जना, चौरपाटी गाँउपालिकामा ७ जना क्षयरोगी रहेका छन् ।
यस्तै मंगलसेन नगरपालिकामा ११ जना, बान्नीगढी जयगढ गाँउपालिकामा ६ जना, कमलबजार नगरपालिकामा ३ जना र ढकारी गाँउपालिकामा ८ जना नयाँ क्षयरोगीका बिरामी रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए । जिल्लाको सम्रग तथ्यांकमा आर्थिक बर्ष २०७४÷७५ मा बढी क्षयरोगी फेला परेपनि यस आर्थिक बर्षमा यो संख्या कम हुदैँ गएको छ ।
सुदूरपश्चिममा ३१२८ जना क्षयरोगी
सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय २८ जना क्षयरोगी रहेको तथ्यांक छ भने यस आर्थिक बर्षको फागुन सम्म मात्रै यस प्रदेशमा १ हजार ६ सय ९१ जना थप क्षयरोगीका संक्रमित फेला परेका छन् । सबैभन्दा बढी कैलालीमा ९ सय ८० र कम दार्चुलामा ३१ जना नयाँ क्षयरोगी फेला परेका हुन् ।
बाजुरामा ७४ जना, बझांगमा ९४ जना, बैतडीमा १ सय ६ जना, डडेलधुरामा ७६ जना, डोटीमा १ सय ११, अछाममा ८१ जना र कञ्चनपुरमा ४ सय ३८ जना क्षयरोगी थपिएका छन् । सुदरपश्चिम प्रदेशमा ५ वटा टिबी जोन एक्स्र्पट क्षेत्र रहेका छन् ।
नेपालमा आज “संकेत समयको, क्षयरोग अन्त्यको” भन्ने नाराका साथ क्षयरोग दिवस मनाईदैँ छ ।