असई सहित ५ जना जुवाडे कैलालीबाट पक्राउ
कैलास जोशी कैलाली :सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षकसहित ५ जना जुवाडे कैलालीबाट पक्राउ परेका छन् । मंगलबार राति जिल्लाको गोदावरी नगरपालिका ओलानीको जंगलबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतीक विष्टले जानकारी दिए ।
पक्राउ पर्नेमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक पुष्कर भट्ट, धनगढी उपमहानगरपालिका–३ का डबल चन्द, बालकृष्ण पनेरु, गोदावरी नगरपालिका–५ टेक बहादुर विष्ट, कञ्चनपुर भिमदत्त नगरपालिका–४ बस्ने सन्तोष चन्द रहेका छन् ।
उनीहरुको साथबाट ३ लाख ३४ हजार रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक भट्ट सुदूरपश्चिमका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अंग रक्षक भएको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले भने पक्राउ परेका भट्ट आफ्नो अंग रक्षक नभएर प्रदेश प्रहरी कार्यालयमा कार्यरत कर्मचारी रहेको बताएका छन् ।