Advertisement
SKIP THIS
अछामका तीन स्थानीय तहमा पक्कि सडक निर्माण हुने

अछामका तीन स्थानीय तहमा पक्कि सडक निर्माण हुने

टेकराज भण्डारी अछाम : अछामका तीन स्थानीय तहमा प्रादेशिक एबम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत सडक निर्माण हुने भएका छन् । स्थानीय, प्रदेश र संघलाई पक्की सडक सञ्जालमा जोड्ने गरी तीनै तहका सरकारले शुरु गरेको कार्यक्रम अनुसार अछामका चौरपाटी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा सडक निर्माण कार्य शुरु हुने भएको हो । त्यसका लागि उक्त तीन पालिकासंग प्रदेश सरकारले सम्झौता गरेको छ ।

तुर्माखाँद–बाँसकाडा–पुनेपाटा–बतासे सम्म तुर्माखाँद गाउँपालिकासंग ३१ किलोमिटर, चौरपाटी – चौखुट्टे १४ किलोमिटर सडकका लागि चौरपाटी गाउँपालिकासंग र कमलबजार गैरीटाँड सम्म ८ किलोमिटर सडकका लागि कमलबजार नगरपालिकासंग समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । अछाममा तीन पालिकामा गरी ५३ किलोमिटर सडक कालोपत्रे गर्ने गरी निर्माण हुन लागेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा धनगढीमा भएको कार्यक्रममा कमलबजार नगरपालिकाका प्रमुख ओम प्रकाश बिष्ट, चौरपाटिी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँद र तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले पालिकाको तर्फबाट समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री प्रकाशबहादुर शाहको उपस्थितिमा हस्ताक्षर गरिएको हो । तीन वटै सरकारको संयुक्त लगानीमा सडक निर्माण गरिने छ ।

पालिका गौरवको आयोजनाको रुपमा रहेको यी सडक प्रादेशिक एबम स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत आयोजना कार्यान्वयनका लागि नेपाल सरकार, प्रदेश सरकार र पालिकावीच समझदारी पत्रमा हस्ताक्षर गरिएको कमलबजार नगरपालिका प्रमुख ओम प्रकाश बिष्टले बताए ।

प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको चिसापानी –जंगलघाट –मंगलसैन सडक खण्ड अन्तर्गत तुर्माखाँद र कमलबजार नगरपालिकामा सडक खण्डअन्तर्गत पर्नेे तुर्माखाँद देखि गैरीटाँड सम्मको सडक कालोपत्रे भएपछि उक्त दुई पालिका पक्की सडक सञ्जालमा जोडिने छन् ।

जंगलघाटमा पक्की पुलका लागि टेण्डर परिसकेकाले चिसापानी जंगलघाट मंगलसेन सडकले मुर्त रुप लिन लागेको उक्त सडक निर्माणका लागि निरन्तर लागिरहनु भएका अछाम क्षेत्र नम्बर २ का संघीय सांसद यज्ञ बहादुर बोगटीको भनाई छ ।

यो खण्डको सडक निर्माण पश्चात पुर्वी अछामका जनतालाई कैलाली सम्म सहज यातायातको पहुच हुने र यहाँको व्यापार, पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने तुर्माखाँद गाउँपालिकाका अध्यक्ष शर्माको भनाई छ ।

समझदारी पत्रमा हस्ताक्षर भएको र अब सडक निर्माण भएपछि पालिकाबासीलाई थप राहत हुने चौरपपाटी गाउँपालिकाका अध्यक्ष साउँदको भनाई छ ।

पक्की सडक नपुगेका ११० स्थानीय तह, प्रदेश जनप्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच आईतबार देशका सातै प्रदेशमा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । दुई सय ८३ स्थानीय तहका केन्द्रलाई प्रदेश तथा राष्ट्रिय सडक सञ्जालमा जोड्नुपर्ने, ६१ स्थानीय तहसँग केन्द्रसम्म जोड्दै नजोडिएको र १६३ स्थानीय तहमा नयाँ कच्ची सडक निर्माण भएको र सबै सडकलाई पक्की सडकमा रुपान्तरण गरिने सरकारको लक्ष्य रहेको छ ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा एक हजार एक सय किलोमिटर सडक निर्माण गरिन लागेको छ । यसबाट मुलुकको सामाजिक तथा आर्थिक विकासमा ठूलो सहयोग पुग्नाका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन सोच पूरा गर्न सहयोग पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया