भीम रावलमाथि कसले कारवाही गर्छ ,हेरौला
धनगढीः नेकपा एमालेका उपाध्यक्ष एवंम् सुदूरपश्चिम संयोजक भीम रावलमाथि कारवाही गर्ने चेतावनीपछि उनी पक्षीय सांसदहरुले पनि मुख खोलेका छन्।
नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले ञञ,रावलले अनाधिकृत रुपमा पार्टीको खातामा रहेको ३० लाख रुपैँयाँ गायब पारेको भन्दै आर्थिक अनियमितताको अभियोगमा उनलाई कारवाही गर्ने चेतावनी दिएपछि रावल पक्षीय सांसदहरुले कारवाही गरेर देखाउन चुनौती दिएका छन्।
‘कोलाई कसले कारवाही गर्छ त्यो हेर्दै जाउँला,’ रावल निकट प्रतिनिधिसभा सदस्य झपट रावलले भने, ‘हिजोका दिनमा पनि यस्तै प्रवृत्ति र सोच, अराजकतावादी, वितण्डावादी सोचका कारण पार्टी भित्र समस्या आएको हो। कोले कारवाही गर्छ भन्ने कुरा भविष्यले देखाउँला।’
थापा पार्टीको सुदूरपश्चिमको अध्यक्ष नभएर एमाले व्युँतिएपछि पूर्ववत अवस्थामा फर्र्किएकाले उनी सह–संयोजक भएको दाबी पनि रावलले गरे। ‘नेकपा भइसकेपछि उहाँ अध्यक्ष हो, तर अहिले साविकको पार्टी ब्युँतिएपछि कमरेड कर्ण थापा त्यहाँको सह–संयोजक हो,’ उनले भने।
३० लाख रुपैयाँ मात्र नभएर अन्य नगद, जिन्सी, भौतिक सम्पत्ती सबैको हिसाब किताव हुने उनले प्रस्टाएका छन्। ‘कर्ण थापा जीले ब्याजसहित सावा असुली गर्ने उहाँको कुनै व्यक्तिगत सम्पत्ती होइन होला,’ रावल भन्छन्, ‘त्यो कसैको निजी पैँसालाई चलाएको होइन। पार्टीको नीतिअनुसार चल्या छ।’
यसअघि ओली पक्षले नेकपाको सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका डा. भीम रावलको ठाडो निर्देशनमा पार्टी एकतापछि नेकपा प्रदेश समिति अध्यक्ष कर्णबहादुर थापा, सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको नाममा कृषि विकास बैँकको धनगढी शाखामा रहेको संयुक्त खाताबाट ३० लाख रुपैयाँ झिकेको आरोप लगाएको थियो।
प्रदेश अध्यक्ष थापाले सो कार्यलाई पुनः आपराधिक भएको संज्ञा दिएका छन्। उनले दिनेशखबरसँग भनेका थिए, “त्यो पार्टीको सम्पत्ति थियो। त्यसमा हाम्रो पुरानै मान्यता छ। ब्याजसहित फिर्ता गर्नुपर्छ। उनीहरुले अपराधपूर्ण कार्य गरेका छन्। त्यो जघन्य अपराध नै हो। आर्थिक अनियमितता गरेका छन्। हामी कारवाही गर्छौ।”
हुन त पार्टीको औपचारिक कार्यक्रममै पैसा झिकेको स्वीकार गरेका थिए नेता रावलले। उनले भनेका थिए, “हो हामीले प्रधानमन्त्रीलाई काम गर्न दिएनौँ, खाताबाट पैसा झिकिएकै हो।” जसलाई अध्यक्ष थापाले आपराधिक कार्यको संज्ञा समेत दिएका थिए।
तर इन्चार्ज डा. रावलले प्रदेश अध्यक्ष थापाको अभिव्यक्तिलाई खण्डन गर्दै दिनेशखबरसँग भनेका थिए, “हामी आधिकारिक हो। अब आधिकारिक पार्टीको खाता सञ्चालन उहाँहरुले के प्रयोजनका लागि गर्नुहुन्छ ? रकम चलाउने, पत्राचार गर्ने, त्यो उहाँहरुको अधिकारको कुरा हो। त्यसमा मलाई गालीगलौज गर्नू भनेको निकृष्ट कार्य हो।”
सर्वोच्च अदालतले फागुन २३ गते सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गर्ने फैसलापछि नेपाली राजनीति तरंगित भएको हो।