Advertisement
SKIP THIS
खोक्रो राष्ट्रबादको भाषणले अछामी जनताको पेट भरिएन

भीम रावललाई अछामले फेरि भोट किन दिने ?
अछाम आज भीडको तालमा होइन,इतिहासको ऐनामा उभिएर प्रश्न गरिरहेको छ।यो प्रश्न आवेगको होइन,अनुभवले खारिएको चेतनाको हो।दशकौँ राष्ट्रिय राजनीतिमा बिताएका वर्षहरू कुनै सामान्य यात्रा होइनन्।तर ती वर्षहरूले अछामको जीवनमा के छाप छोडे अछामका पहाड अझै उस्तै कठोर छन्, तर पीडा पहाडभन्दा भारी भएको छ।हिजो जसरी बाटो सपना थियो,आज पनि त्यही सपना किन दोहोरिँदै छ ?अस्पताल भवन बने, तर उपचार भरोसा किन बन्न सकेन ? विद्यालयका भवनहरू त बनेका छन् तर विद्यार्थी छैनन् अछाम सोध्छ—बयलपाटा अस्पताल बन्द हुने संघारमा पुग्दा नेतृत्वको चेतना कहाँ हरायो ?आमा उपचारको लाइनमै ढल्दा राष्ट्रियताको गर्जन किन मौन भयो ?यति मात्र होइन,अछाम प्रकृतिले धनी छ, तर नीतिले उपेक्षित।

रामारोसन जहाँ तालहरू मौन छन्, तर सम्भावना चिच्याइरहेका छन्।खप्तड जहाँ स्वर्गीय सौन्दर्य छ, तर पहुँच छैन।पर्यटन अछामको अर्थतन्त्रको मेरुदण्ड बन्न सक्थ्यो,तर योजना बिना सौन्दर्य पनि एक्लो रह्यो।यदि यी गन्तव्यहरूमा सडक, प्रचार, रोजगारी र स्थानीय सहभागिता जोडिएको भए आज अछामका युवाहरू बाध्यतामा होइन, अवसरमा बाँचिरहेका हुने थिए।युवाहरू अछामको भविष्य थिए,आज उनीहरू बाध्यताको यात्रा बनेका छन्।रोजगारीको अभावले आफ्नै जिल्लाबाट निर्वाचन सुरक्षाका लागि युवा नपुग्ने अवस्था कसरी आयो ? यो नियति हो,कि दीर्घकालीन राजनीतिक असफलताको दस्तावेज ?राष्ट्रियताको भाषण धेरै सुन्न पाइयो। खोक्रो राष्ट्रबादको भाषणले अछामी जनताको पेट भरिएन तर अछामका लागि राष्ट्र भनेको सीमा मात्र होइन,सडक हो, अस्पताल हो,विद्यालय र रोजगारी हो।यीमध्ये कुन कुरा विगतका वर्षहरूले सुनिश्चित गरे अह गरेन?सबैभन्दा गहिरो प्रश्न यही हो, दशकौ सम्म जब शक्ति सत्ताहातमा थियो, निर्णय गर्ने ठाउँमा हुनुहुन्थ्यो अछाम किन प्राथमिकतामा परेन ?र जब शक्ति गुम्यो,तब आश्वासन किन बढ्यो ?

आज नयाँ झण्डा बोकेर उभिनु पुराना जिम्मेवारी मेटिने कागज होइन। पार्टी फेरिँदा इतिहास फेरिँदैन। असफलताका पानाहरू नयाँ नाराले च्यातिँदैनन्। यो विरोधको हल्ला मात्र होइन,यो अछामको विवेकको आवाज हो।अछाम भावनाले होइन,यथार्थले सोच्न सिकेको भूमि हो।अन्ततः यदि यस प्रश्नको इमानदार, कार्ययोजनासहितको उत्तर छैन भने अछामले फेरि भोट किन दिने ?अछाम अब मौन छैन।ऊ शब्दभन्दा काम तौल्ने समयमै उभिएको छ।
अछाम मौन छैन उ अब सही निर्णयको मोडमा छ,भावनाले हैन यथार्थले निर्णय गर्छ।।

सागर साउद
अछाम क्षेत्र न: १ मतदाता

तपाईको प्रतिक्रिया