बझाङ:बझाङको मष्टा गाउँपालिकामा साहारा नेपाल बझाङद्वारा सञ्चालित खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन तथा महिला सशक्तीकरण परियोजना अन्तर्गतका योजनाहरूको स्थलगत अनुगमन गरिएको छ। परियोजना लागू भएका वडा नं. ६ र ७ का कृषक समूह तथा लाभान्वित उपभोक्ताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै अनुगमन र प्रतिक्रिया संकलन गरिएको हो।
अनुगमनका क्रममा ग्रामीण बस्तीका कृषक वर्ग तथा महिलाहरूको जीविकोपार्जनमा परियोजनाले उल्लेखनीय योगदान पुर्याएको भेडापालक तथा बाख्रापालक कृषकहरूले बताएका छन्। व्यावसायिक बाख्रापालनबाट राम्रो आम्दानी गर्न सफल कृषकहरूले विगतमा बाख्रा खुला चौरमा राख्ने गरे पनि हाल साहारा नेपाल बझाङद्वारा प्रदान गरिएको एक हप्ते तालिमपछि व्यवस्थित खोर निर्माण गर्न थालेको बताएका छन्।
त्यसैगरी परियोजनामार्फत पालिकाभित्रका कृषक समूह र सामुदायिक वन उपभोक्ता समूहहरूलाई वातावरणको महत्व, संरक्षणका उपाय तथा स्थानीय चुनौतीबारे व्यवहारिक जानकारी प्रदान गरिएको पाइएको छ। वन विनाशका कारण, जलवायु परिवर्तन, फोहर व्यवस्थापन, सिँचाइ पोखरी निर्माण, वृक्षारोपण तथा जैविक खेतीजस्ता क्षेत्रमा परियोजनाले प्रभावकारी काम गरेको अनुगमनका क्रममा देखिएको छ।

गत शनिबार साहारा नेपाल बझाङका निर्देशक भानु जोशीको नेतृत्वमा गएको टोलीले परियोजनाबाट भएका उपलब्धिहरूको स्थलगत अनुगमन गर्दै स्थानीय उपभोक्ता समूहका पदाधिकारी तथा लाभान्वित कृषक समूहहरूसँग अन्तरक्रिया गरेको थियो। अनुगमनका क्रममा निर्देशक जोशीले ग्रामीण कृषकहरूको उत्पादन र सीपलाई उच्च प्राथमिकतामा राख्दै आर्थिक आयआर्जन बढाउने कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न उपभोक्ता समूह र स्थानीय सरोकारवालालाई निर्देशन दिनुभयो। साथै परियोजनाका उपलब्धि, समस्या र भावी योजनाबारे पृष्ठपोषण समेत लिनुभयो।
अनुगमनका क्रममा परियोजनाका संयोजक उमेशराज जोशीले महिला तथा कृषक समूहलाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरी दिगो जीविकोपार्जनमा जोड्ने प्रयास भइरहेको बताउनुभयो। वन र वातावरण एक–अर्कासँग जोडिएका विषय भएको उल्लेख गर्दै समुदायस्तरबाटै संरक्षण र उचित सदुपयोगमा लाग्न उपभोक्ताहरूलाई प्रेरित गरिएको उहाँको भनाइ थियो।
साहारा नेपाल बझाङका फिल्ड संयोजक दिनेश रोकायाले परियोजना लागू भएका दुर्गम वडाहरूमा पुगेर नियमित रूपमा कृषक समूह तथा उपभोक्तालाई सीप र जानकारी प्रदान गरिएको जानकारी दिनुभयो। व्यवसायिक तालिम, महिला उद्यमशीलता तथा वन–वातावरण संरक्षणसम्बन्धी तालिमहरूले स्थानीय तहमा दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याएको उहाँले बताउनुभयो।










