अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकाका लेखा अधिकृत अर्जुन प्रशाद जोशीमाथी कार्यालयमा हातपात सहित अभद्र ब्यवहार भएको भन्दै पालिकाका कर्मचारीहरुले सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका छन् ।
सोमबार दिउँसो २:३० बजे कार्यालय समयमा आफ्नै कार्यकक्षमा कामकाज गरिरहेको अवस्थामा गाउँपालिका कार्यालयमा कार्यरत लेखा अधिकृत अर्जुन प्रसाद जोशीसँग आ.व. २०८१/०८२ को म.ले.प.को प्रारम्भिक प्रतिवेदनमा उल्लेखित मिसन कन्स्ट्रकसनको असूल उपर बेरुजू सम्बन्धी विषयमा जानकारी भईरहेको बेला वडा नं. ६ दर्ना निवासी निर्माण व्यवसायी हर्क बहादुर साउँदले कार्यकक्षमा प्रवेश गरी हातपात सहित धाक धम्की, गाली गलौज र अभद्र व्यवहारको घटनाले कार्यालयको शान्ति, सुरक्षा, कर्मचारीको मनोबल तथा सार्वजनिक सेवा प्रवाहमा गम्भिर अवरोध सिर्जना गरेको भन्दै कर्मचारीहरु सामुहिक रुपमा अनिश्चितकालका लागि बन्द गरीएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
हिंसात्मक र अर्मायादित गतिविधीका कारण कार्यालयमा कार्यरत कर्मचारीहरु असुरक्षित महसुस गर्न बाध्य भएका र त्रासपूर्ण वातावरण कायम रहेमा आगामी दिनमा कार्यालयमा नियमित कामकाज सञ्चालन गर्न नसकिने भन्दै सामुहिक रुपमा बिज्ञप्ति जारी गरेका हुन।
घटनाको उचित छानविन र कानुनी प्रक्रिया अगाडी नबढाएसम्म तथा कर्मचारीहरुको शान्ति र सुरक्षाको पूर्ण प्रत्याभुतिको सुनिश्चितता नभएसम्मका लागी यस गाउँपालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य चौकीबाट प्रदान गरिने (OPD सेवा समेत) अति आवश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।










